हङकङ विश्वभर छरिएर रहेका नेपाली तथा गोरखा समुदायले आसन्न अप्रिल ५ (चैत २३) मा मनाइने 'पुर्खा दिवस' (Purkha Diwas) को तयारी पूरा भएकाे आयाेजकले जनाएकाे छ ।

विशेषगरी हङकङ, बेलायत, ब्रुनाई र नेपालमा रहेका गोरखा सैनिकका परिवार र संस्थाहरूले आफ्ना वीर पुर्खाहरूको बलिदानलाई स्मरण गर्न गाेरखा सिमेट्रिज ट्रष्ट हङकङले सन्  २००५ देखि पुर्खा दिवस मनाउदै आएकाे छ ।
 हङकङस्थित गोरखा सिमेट्रिज ट्रस्टले अप्रिल ५ मा सान टिन ब्यारेकस्थित गोरखा समाधिस्थलमा क्विशेष स्मृति सभा आयोजना गर्दैछ । यसका लागि सरसफाई र व्यवस्थापनका कामहरू भएकाे ट्रष्टका अध्यक्ष आमाेद राईले जानकारी दिनु भयाे ।
उहाँका अनुसार सहभागीहरूलाई औपचारिक पोसाक (Formal Dress) मा उपस्थित हुन सूचित गरिएको छ । कार्यक्रममा पुर्खाहरूको सम्मानमा तस्विर प्रदर्शनी  गर्ने कार्क्रम रहेकाे छ ।
यो दिवसलाई युवा पुस्तामा आफ्ना पुर्खाहरूको वीरता, इतिहास र गौरवपूर्ण गाथा हस्तान्तरण गर्ने माध्यमका रूपमा लिइएको छ । राई, लिम्बु, गुरुङ, मगर, थापा लगायतका विभिन्न वंशका गोरखालीहरू यस अवसरमा एकजुट हुने गर्दछन् ।
 नेपालमा रहेका पूर्व गोरखा सैनिकका संगठनहरूले पनि स्थानीयस्तरमा दिप प्रज्वलन र श्रद्धाञ्जली कार्यक्रम गर्ने गरिएकाे छ।
यश कार्यक्रमका संस्थापक तथा ट्रष्टका सचिव देवराज राईका अनुसार सन् २००५ देखि हङकङबाट सुरु भएको यो दिवसले विश्वयुद्ध र विभिन्न द्वन्द्वमा वीरगति प्राप्त गरेका तर इतिहासमा ओझेलमा परेका नेपाली सिपाहीहरूको योगदानलाई सम्मान गर्दछ । यस वर्षको तयारीले गोरखाली पहिचान र वीरताको विरासतलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । उहाँले पुर्खाहरूकाे स्मृतिका लागि खाेजमुलक स्मृति पुस्तक समेत प्रकाशन गर्नु भएकाे छ ।
के हाे गाेरखा सिमेट्रिज ट्रष्ट
Gurkha Cemeteries Trust (गोरखा सेमेट्री ट्रस्ट, हङकङ) हङकङमा रहेका नेपाली गोरखा सैनिकहरू र उनीहरूका परिवारका दिवंगत सदस्यहरूको समाधिस्थल (cemeteries) को संरक्षण र व्यवस्थापन गर्ने एक महत्वपूर्ण संस्था हो।
यो ट्रस्ट विशेषतः बेलायती सेनामा सेवा गरेका गोरखा सैनिकहरूको इतिहास, योगदान र सम्झनालाई जोगाउन स्थापना गरिएको हो। British Army मा लामो समय सेवा गरेका गोरखा सैनिकहरू हङकङमा तैनाथ हुँदा त्यहीं निधन भएका धेरैको समाधि पनि त्यहीँ रहेको छ ।
गोरखा सैनिक र परिवारका सदस्यहरूको समाधिस्थल संरक्षण र मर्मत,चिहानहरूको अभिलेखीकरण (record keeping), समाधिस्थल वरिपरिको सफाइ र व्यवस्थापन
विशेष अवसरहरूमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिन्छ ।
पुर्खा दिवससँग सम्बन्ध
हङकङमा रहेका नेपाली समुदायले Qingming Festival वा अन्य अवसरहरूमा यि समाधिस्थलमा पुगेर चिहान सफा गर्ने, फूल, माला अर्पण गर्ने, धूप बाल्ने, सामूहिक श्रद्धाञ्जली दिने गरिन्छ ।
गोरखा सेमेट्रीज ट्रस्ट केवल समाधिस्थल व्यवस्थापन गर्ने संस्था मात्र होइन, यो इतिहास, पहिचान र सम्मानको प्रतीक पनि हो। यसले विदेशमा रहेका नेपालीहरूको पुर्खासँगको सम्बन्धलाई जीवित राख्न ठूलो भूमिका खेलिरहेको छ।
पुर्खाहरूकाे ईतिहास, उनीहरूकाे याेगदान, वीरता, ज्ञानबारे  नयाँ पुस्तालाई अवगत गराउन नियमित कार्यक्रम गरिदै आएकाे आयाेजकले जनाएकाे छ ।