धरान / नेपाली बजारमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढिरहेका बेला महेन्द्राले आफ्ना नयाँ दुई ईभी मोडलहरू सार्वजनिक गरेको छ। आधिकारिक विक्रेता अग्नि आस्था ग्रुप, इटहरीले शुक्रबार एक विशेष कार्यक्रम आयोजना गर्दै ‘BE6’ र ‘XEV 9e’ मोडलका गाडीहरू सार्वजनिक गरेको हो।
इटहरीमा आयोजित कार्यक्रममा अग्नि आस्था ग्रुपका अध्यक्ष क्याविनेट श्रेष्ठले नेपालमा ईभी सवारीको सम्भावना अत्यन्तै राम्रो रहेको उल्लेख गर्दै महेन्द्राका नयाँ मोडलहरूले ग्राहकलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री विकल्प दिने बताउनु भयो ।
कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले गाडी उद्घाटन गर्नु भएको थियो । निर्देशक निश्चल बस्नेतलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कम्पनीका प्रोडक्ट म्यानेजर सागर भट्टराईका अनुसार ‘BE6’ स्पोर्टी डिजाइनसहितको प्रिमियम इलेक्ट्रिक गाडी हो, जसलाई विशेषगरी युवा पुस्तालाई लक्षित गरेर तयार पारिएको छ। आकर्षक लुक, एरोडाइनामिक संरचना, डिजिटल इन्फोटेनमेन्ट सिस्टम, ठूलो टचस्क्रिन, स्मार्ट कनेक्टिभिटी र एड्भान्स ड्राइभिङ असिस्ट सिस्टमजस्ता फिचरहरू यसमा समावेश गरिएको उनले जानकारी दिए।
त्यस्तै ‘XEV 9e’ मोडल भने एसयूभी सेग्मेन्टमा पर्ने पारिवारिक गाडी हो। यसमा फराकिलो इन्टेरियर, आरामदायी सिटिङ, उच्च ग्राउन्ड क्लियरेन्स र लामो दूरी कभर गर्न सक्ने शक्तिशाली ब्याट्री जडान गरिएको छ। दुवै मोडलमा फास्ट चार्जिङ सुविधा उपलब्ध हुनुका साथै एकपटक फुल चार्ज गर्दा लामो दूरी यात्रा गर्न सकिने कम्पनीको दाबी छ।
सुरक्षाको हिसाबले यी गाडीहरूमा मल्टिपल एयरब्याग, एबीएस, ईबीडी, ट्र्याक्सन कन्ट्रोल, रिभर्स क्यामेरा, सेन्सर र विभिन्न एड्भान्स सेफ्टी प्रविधिहरू समावेश गरिएको बताइएको छ। साथै, स्मार्ट की, पुश स्टार्ट बटन, क्लाइमेट कन्ट्रोल, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता सुविधाले गाडीलाई थप आधुनिक बनाएको छ।
कम्पनीका अनुसार प्रारम्भिक चरणमा ६७ वटा गाडी नेपाल भित्र्याइएको छ। इटहरीबाट बिक्री सुरु गरिएसँगै पूर्वमा ययि गाडीकाे बुकिङ सुरु भएकाे कम्पनिले जनाएकाे छ । नेपालमा पेट्रोलियम पदार्थको बढ्दो मूल्य र वातावरणीय प्रदूषणको चुनौतीका बीच विद्युतीय सवारीसाधन प्रभावकारी विकल्पका रूपमा स्थापित हुँदै गइरहेका छन्। यस्तो अवस्थामा महेन्द्राका नयाँ ईभी मोडलहरूले ग्राहकलाई किफायती, दिगो र आधुनिक यातायातको विकल्प दिने अपेक्षा गरिएको छ।




















