धरान/ नेपालका विभिन्न खेमामा विभाजित, ७६ वर्ष लामो इतिहास बोकेका बामपन्थी दलहरूको ओरालो यात्राले पुराना बुद्धिजीवीहरू चिन्तित भएको उहाँहरूले बताउनुभयो। २०८२ भदौंसम्म सत्ता र शक्तिमा देखिएका यी दलहरू अहिले प्रभावकारितामा कमजोर हुँदै गएको प्रति धरानस्थित बाम बुद्धिजीवीहरूले चिन्ता व्यक्त गर्नुभएको हो।

शनिबार स्व‍ लिला सुब्बा श्रेष्ठ स्मृति प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा धरानका पुराना बाम बुद्धिजीवी बंशी मुक्तानले नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले बताउनुभयो, “पुराना नेताहरूबाट कम्युनिष्ट पार्टी जोगाउन कठिन छ। नयाँ पुस्ताले नेतृत्व गरेर पार्टी र आन्दोलन दुवैलाई जीवित राख्न सकिन्छ।”

कार्यक्रममा सहभागी पुष्पलाल श्रेष्ठ, नारायणविलाश जोशी, मोतीदेवी श्रेष्ठलगायतले २००६ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेको सम्झनुभयो। उहाँहरूले भन्नुभयो, २०१५ सालको पहिलो आम निर्वाचनमा ४ सिट जितेर संसदमा प्रवेश गरेको कम्युनिष्ट पार्टीको उपस्थिति समयक्रमसँगै बढ्दै घट्दै गएको थियो।

मजदुर नेता भीमज्वाला राईले २०४८ सालदेखि २०८२ सालसम्म नेपालको संसदीय यात्रामा कम्युनिष्ट पार्टीको उपस्थिति प्रस्तुत गर्नुभयो। उहाँका अनुसार “२०४८ सालमा ४४ प्रतिशत, २०५१ मा ४५ प्रतिशत, २०५६ को निर्वाचनमा ३८ प्रतिशत उपस्थिति थियो। २०६४ मा बढेर ६३ प्रतिशत पुगेको थियो। २०७० मा ४७ प्रतिशतमा झर्यो। २०७४ मा एमाले र नेकपा मिलेर चुनाव लड्दा फेरी ६४ प्रतिशत पुगेको थियो। तर २०७९ को निर्वाचनमा ४४ प्रतिशतमा झ¥यो। जेन–जी आन्दोलनपछि भएको निर्वाचनमा मात्र १५ प्रतिशतमा सीमित भयो।”

बाम विश्लेषक डा‍ हरी रोक्काले कम्युनिष्ट पार्टीको ओरालो यात्राबारे विश्लेषण गर्नुभयो। “देशमा भ्रष्टाचार, नातावाद र राजनीतिक अस्थिरता बढ्दै गए। शिक्षा क्षेत्रमा गिरावट, परिवार विघटन, उत्पादन संरचनामा परिवर्तन र तीव्र बसाइँसराइले जनविश्वास कमजोर पारेको छ।”–उहाँले भन्नु भयो । 

उहाँले बेरोजगारी करिब १२ प्रतिशत रहेको र दक्ष जनशक्ति विदेश पलायन हुनुले देशको दीर्घकालीन विकासमा चुनौती थपेको पनि बताउनुभयो। “हामीले उत्पादन गरेको जनशक्ति विदेशमा प्रयोग भइरहेको छ,” उहाँले भन्नुभयो।

उहाँले आर्थिक वृद्धिदर करिब ७ प्रतिशत भए पनि लाभ आम जनतासम्म पुग्न नसकेको गुनासो सुनाउनुभयो। खोटाङबाट प्रतिनिधि सभा सदस्यमा पराजित रोक्काले चुनावी घरदैलोको अनुभव सुनाउँदै बताउनुभयो, “गाउँमै रोजगारी सिर्जना हुने आश्वासनमा जनताको शंका छ। विकासका प्रतिबद्धतामा विश्वास घटेको छ। धेरै मतदाताले राजनीतिक भाषण सुन्न पनि रुचि देखाएका छैनन्।”

विदेशमा बस्ने नेपालीहरूको प्रभाव र दबाबले नीति निर्माणमा जटिलता थपिरहेको पनि उहाँले बताउनुभयो। वर्तमान सत्ताधारी दलहरूले जनविश्वास पुनःस्थापित, रोजगारी सिर्जना र बसाइँसराइ नियन्त्रणका उपायहरू तत्काल अघि ल्याउनुपर्ने सुझाब उहाँले दिनुभयो।

कार्यक्रममा पुराना बामपन्थी नेता बम देवान, हिरा उदास, डा. भोला पोखरेललगायतको उपस्थिति रहेको थियो।