धरान । सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका फुर्वा शेर्पामाथि दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

सुनसरीको धरान उपमहानगरपालिका –११ बस्ने ३८ वर्षीय फुर्वा शेर्पालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत दफा ४७(१) बमोजिमको कसुरमा चैत बुधबार इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको थियो । 

शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा असान्दर्भिक भिडियो पोस्ट गर्दै अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री प्रकाशन गरी एक महिला पत्रकारको चरित्रहत्या गरेका थिए ।

सामाजिक सञ्जालमा व्यक्तिको प्रतिष्ठा तथा चरित्रमा असर पर्ने गरी भिडियो अपलोड गरेको भन्ने जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका शेर्पालाई जिल्ला अदालत सुनसरीबाट दुई दिनको म्याद थप अनुमति लिई धरान इलाका प्रहरी कार्यलयमा राखी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरान का डिएसपी विष्णुबाबु राईले जानकारी दिनुभएको छ । यसरी एक व्यक्तिको तस्विर गलत प्रयोग गरि गालीगलौज गर्ने अन्य व्यक्तिहरुको विरुद्ध पनि उजुरी परेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।