इरानमा अमेरिका–इजरायल आक्रमण र त्यसपछिका जवाबी क्षेप्यास्त्र प्रहारबीच मध्यपूर्वको सुरक्षा अवस्था तीव्र रूपमा अस्थिर बन्दै जाँदा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले सबै पक्षलाई ‘अत्यधिक संयम’ अपनाउन कडा आग्रह गर्नुभएको छ । उहाँले सम्भावित आणविक जोखिमलाई ध्यानमा राख्दै तत्काल तनाव कम गर्नुपर्ने चेतावनी दिनुभयो ।
भियनास्थित आइएइए मुख्यालयमा रुसको अनुरोधमा बोलाइएको असाधारण बैठकलाई सम्बोधन गर्दै ग्रोसीले हालसम्म इरानका कुनै पनि आणविक प्रतिष्ठानमा क्षति पुगेको वा आक्रमण भएको सङ्केत आफ्नो एजेन्सीलाई प्राप्त नभएको जानकारी दिनुभयो । तथापि, क्षेत्रीय सैन्य गतिविधि चर्किंदै जाँदा आणविक ऊर्जा संयन्त्र, अनुसन्धान रिएक्टर र इन्धन भण्डारण स्थलहरू जोखिममा पर्न सक्ने उहाँको चिन्ता थियो ।
“आजको अवस्था अत्यन्त चिन्ताजनक छ”, उहाँले भन्नुभयो, “हामी सम्भावित रेडियोलोजिकल उत्सर्जनको जोखिमलाई अस्वीकार गर्न सक्दैनौँ, जसले ठूला सहर वा विस्तृत क्षेत्र खाली गर्नुपर्ने अवस्था पनि निम्त्याउन सक्छ ।” उहाँले सबै पक्षलाई थप उक्साहटबाट टाढा रहन र अधिकतम संयम अपनाउन पुनः आग्रह गर्नुभयो ।
ग्रोसीका अनुसार एजेन्सीले इरानी आणविक नियामक निकायसँग सम्पर्क गर्ने प्रयास गरिरहेको भए पनि तत्काल प्रतिक्रिया प्राप्त भएको छैन । सञ्चार च्यानल चाँडै पुनःस्थापित हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो । साथै, कूटनीतिक संवाद ‘सकेसम्म चाँडो’ पुनः सुरु गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
यसअघि जेनेभामा ओमानको मध्यस्थतामा इरान र संयुक्त राज्य अमेरिकाबीच भएको दुई चरणको वार्तामा ग्रोसी सहभागी हुनुभएको थियो । ती वार्ताबाट सहमति ननिस्किएको स्मरण गर्दै उहाँले निराशा महसुस भइरहेको स्वीकार गर्नुभयो, तर समाधान कूटनीतिक बाटोबाटै सम्भव हुने विश्वास व्यक्त गर्नुभयो ।
असाधारण बैठक आइएइएको ३५ सदस्यीय बोर्ड अफ गभर्नर्सको नियमित सत्रअघि आयोजना गरिएको हो । अमेरिका र इजरायलसहितका पश्चिमी देशहरूले इरानले आणविक हतियार विकास गर्न खोजिरहेको आरोप लगाउँदै आएका छन् । तेहरानले भने त्यस्ता आरोप अस्वीकार गर्दै आफ्नो आणविक कार्यक्रम नागरिक प्रयोजनका लागि मात्र रहेको दाबी दोहोर्याएको छ । एएफपी



















