धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले उपचारका लागि आउने बिरामी तथा उनका कुरुवा र आफन्तप्रति गरिने व्यवहारलाई अझ बढी मर्यादित, संवेदनशील र सेवाग्राहीमैत्री बनाउन ‘बिरामीप्रति पेशागत व्यवहार उत्प्रेरणा तालि प्रलान गरेको छ ।
हालसम्म ७८ जना हेल्थ एड तहका कर्मचारीले तालिम प्राप्त गरिसकेको र दोस्रो चरणमा हेल्पर तहका कर्मचारीलाई तालिम दिन सुरु गरिएको प्रतिष्ठानले जनाएको छ । आगामी चरणहरूमा बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने प्रशासनिक, प्राविधिक, नर्सिङ तथा चिकित्सकहरूलाई समेत तालिम प्रदान गरिने मेट्रोन कला थापाले जानकारी दिनु भयो ।
तालिममा बिरामीसँग बोल्दा प्रयोग गरिने भाषा र हाउभाउलाई कसरी नरम, शिष्ट र व्यावसायिक बनाउने, उपचार प्रक्रिया र परामर्श स्पष्ट र सहज रूपमा कसरी बुझाउने तथा बिरामीको पीडालाई आत्मसात गर्दै मनोवैज्ञानिक रूपमा सकारात्मक सहयोग कसरी पुर्याउने भन्ने विषयमा प्रस्तुतीकरण, संवाद र अभ्यासमार्फत प्रशिक्षण दिइँदै आएको छ ।
‘बिरामीको आधा उपचार स्वास्थ्यकर्मीको मिठो बोली र मर्यादित व्यवहारबाटै हुन्छ’ भन्ने विश्वासका साथ प्रतिष्ठानले सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउने लक्ष्य लिएको प्रतिष्ठानले जनाएको छ । पछिल्लो समय स्वास्थ्य संस्था भित्र बिरामी र स्वास्थ्यकर्मीबीच हुनसक्ने सम्भावित असमझदारी न्यूनीकरण गर्दै अस्पतालको सेवा स्तर उकास्न समितिले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रमप्रसाद श्रेष्ठको अगुवाईमा मनोचिकित्सा विभागका प्रा.डा. बैकुण्ठराज अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन पनि गरिएको छ । समितिमा स्कूल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन विभागका एडिसनल प्रोफेसर डा. विजय खनाल, अर्थोडोन्टिक्स विभागका एसोसिएट प्रोफेसर डा. जमल गिरी, मनोचिकित्सा विभागका एसिस्टेन्ट प्रोफेसर डा. सुरेन लिम्बू, बायोकेमिष्ट्री विभागका एसिस्टेन्ट प्रोफेसर डा. बसन्त गेलाल तथा अस्पताल प्रशासनकी डा. स्वेता झा सदस्य रहनुभएको छ ।
प्रतिष्ठानमा दैनिक हजारौं बिरामी उपचारका लागि आउने भएकाले उनीहरूसँग गरिने संवाद, छलफल र अन्तरक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो पहल गरिएको जनाइएको छ । यसका लागि प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स, पारामेडिक्स तथा प्रशासनिक कर्मचारीलाई लक्षित गरी चरणबद्ध रूपमा उत्प्रेरणामूलक तालिम सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ ।



















