धरान । नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुर्य बहादुर भट्टराई (मनोज) ले युवाको सुझावलाई नै आफ्नो अभियानको केन्द्र बनाउनु भएकाे छ।
युवालाई पठाएको पत्रमा उनले स्पष्ट लेख्नु भएकाे छ-“हेलो युवा साथी, नमस्कार। म मनोज भट्टराई, तारा चुनाव चिन्ह बोकेर उम्मेदवारका रूपमा प्रस्तुत भएको छु। ‘भूगोल र मन जोड्ने’ मेरो संकल्प तपाईं जस्ता सचेत युवाको सल्लाह र सुझावले मात्र पूर्ण हुनेछ। व्यक्ति आफैंमा पूर्ण हुँदैन।”
उहाँले आर्थिक विकास, आफ्नै देशमा स्वरोजगारी सिर्जना, विदेशी लगानी भित्र्याउन नीतिगत सुधार, स्वदेशी लगानी प्रवर्द्धन तथा युवालाई उद्यममा जोड्ने नीतिमा दृढतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ ।
भट्टराईका अनुसार अहिलेको जेन जी (नव युवा) पुस्ताको अपेक्षा के छ, उनीहरू उम्मेदवारसँग के चाहन्छन् भन्ने बुझ्नका लागि सुझाव संकलन अभियान सञ्चालन गरिएको हो। त्यसका लागि पत्रसँगै QR कोड समावेश गरी युवालाई प्रत्यक्ष सुझाव पठाउन आह्वान गरिएको छ।
पार्टी निकट अखिल क्रान्तिकारी सुनसरी जिल्ला इन्चार्ज रविन श्रेष्ठले भन्नु भयाे -“जेन जी आन्दोलन पक्षधर युवाको सोचलाई आत्मसात गर्दै नजिकबाट बुझ्ने उम्मेदवार मनोज भट्टराई हुनुहुन्छ। युवाको अपेक्षा समेटेर अघि बढ्ने उहाँको प्रयास सकारात्मक र समयानुकूल छ।”
“जितेपछि होइन, अहिले नै युवाको कुरा सुन्न चाहन्छु। नीति बनाउँदा युवाको आवाज अनिवार्य रूपमा समेटिनै पर्छ।”- भट्टराईले भन्नु भयाे ।
युवासँग प्रत्यक्ष संवाद र सहभागितामार्फत विश्वास निर्माण गर्ने रणनीतिले उहाँको अभियानलाई सुनसरी–१ मा थप सक्रिय बनाएको छ ।



















