धरान  / सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार एवं नेकपाका नेता मनोज भट्टराईले धरान–१७ का वडाध्यक्षका रूपमा कार्यरत रहँदा सम्पन्न गरिएका विकास निर्माण तथा सामाजिक कार्यहरू सार्वजनिक गर्नुभएको छ। उहाँ यतिबेला चुनाव चिन्ह ‘तारा’ लिएर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।

वडाध्यक्षकालमा उहाँको पहलमा रेल्वे चोक करिब २०० मिटर लम्बाइ र ७२ फिट चौडाइमा चार लेन विस्तार गरिएको थियो। उक्त आयोजनामा करिब दुई करोड रुपियाँ खर्च भएको जनाइएको छ। त्यसैगरी सरस्वती ढल तथा करिडोर निर्माण कार्य करिब छ करोड रुपियाँ लागतमा सम्पन्न भएको थियो। वडाका अधिकांश भित्री सडक ढलसहित कालोपत्रे गरिनुका साथै ठकुरी खोलामा ह्युम पाइप राखी अस्थायी पुल निर्माण गरिएको थियो।

सर्दु पुल निर्माणमा सक्रिय भूमिका निर्वाह गरी बराह र रामधुनी नगरपालिकासँग धरान जोड्ने पूर्वाधार विकासमा योगदान पुर्‍याइएको जनाइएको छ। सरस्वती चोकदेखि एकल महिला भवन जोड्ने पुल निर्माणसमेत उहाँकै कार्यकालमा सम्पन्न भएको थियो।

सार्वजनिक पूर्वाधारतर्फ वडा कार्यालय भवन, दुई स्थानमा सार्वजनिक शौचालय तथा नमुना सामुदायिक भवन निर्माण गरिएको थियो। नन्दपुर खानेपानी योजनाअन्तर्गत पट्नाली क्षेत्रमा करिब ६० लाख रुपियाँ लागतमा डिप बोरिङसहित खानेपानी ट्याङ्की निर्माण गरी ढल व्यवस्थापन विस्तार तथा सुधार गरिएको थियो।

शिक्षातर्फ सुनौलो सामुदायिक पुस्तकालय स्थापना, पाँच सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई पोशाक वितरण तथा श्री पञ्चकन्या माध्यमिक विद्यालयमा कक्षा ११–१२ सञ्चालनका लागि पहल गरिएको थियो। शिक्षक तथा विद्यार्थीलाई काठमाडौँस्थित प्रतिनिधि सभा अवलोकन भ्रमण गराइएको जनाइएको छ।

स्वास्थ्य तथा सामाजिक क्षेत्रमा धरान उपमहानगरपालिकाभित्र शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माण गरिएको थियो। कोभिड–१९ महामारीका समयमा ४६ दिनसम्म दैनिक ३५० जनालाई खाना वितरण, खाद्यान्न सहयोग तथा क्वारेन्टाइन व्यवस्थापनमा सहकार्य गरिएको उल्लेख छ। जेष्ठ नागरिकका लागि धार्मिक भ्रमण कार्यक्रम सञ्चालन तथा एकल तथा दलित महिला जानुका विश्वकर्माको घर निर्माणमा सहयोग गरिएको थियो।

खेलकुद विकासअन्तर्गत विभिन्न क्लबद्वारा आयोजित वडा तथा राष्ट्रियस्तरका प्रतियोगितामा सहयोग तथा आयोजकीय भूमिका निर्वाह गरिएको जनाइएको छ।

दोस्रो कार्यकाल २०८० साउनदेखि सेवा सुविधा नलिई राजस्व कोषमा जम्मा गरी पारदर्शिता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको उहाँको भनाइ छ।

उम्मेद्वार भट्टराईले वडाध्यक्षका रूपमा हासिल अनुभव र उपलब्धिका आधारमा सुनसरी–१ को समग्र विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँ १७ नं. वडामा दुई कार्यकाल काम गर्दाको अनुभव र सामाजिक एवं राजनीतिक सकृयताका कारण आफुलाई फेरी जिम्मेवारी आएको भट्टराईको भनाई छ ।