धरान /नेकपा (एमाले) सुनसरी क्षेत्र नं. १ ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत डिजिटल घोषणापत्र सार्वजनिक गर्दै एमालेले “विकासमा हाम्रो दूरदृष्टिः शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधार, सुनसरी क्षेत्र नं. १ को समृद्धिको आधार” भन्ने नारालाई अघि सारेको हो।

सुनसरी–१ मा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार टिकाराम लिम्बू रहनुभएको छ। निर्वाचन परिचालन कमिटी संयोजक तथा केन्द्रीय सदस्य मञ्जु भण्डारी ले घोषणापत्र सार्वजनिक गर्नुभएको थियो।

सडक र पहुँच विस्तारमा प्राथमिकता

घोषणापत्रमा बराहक्षेत्र–धरान, रामधुनी–धरान सडक, धरान–विष्णुपादुका मन्दिर, धनकुटाको आहाले, चाँदीबजार, चिण्डेडाँडा, सुलिकोट तथा महाभारत पहुँचमार्ग निर्माणलाई पूर्णता दिने उल्लेख छ। पर्यटकीय क्षेत्रको एकीकृत गुरुयोजना तयार गरी पूर्वाधार निर्माण गर्ने, धरतीको पहिलो तीर्थस्थलका रूपमा परिचित बराहक्षेत्र को प्रवर्द्धन, सुरक्षा र सौन्दर्यकरण गर्दै सहज आवागमनका लागि सुविधा सम्पन्न सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ।

त्यस्तै, चतरा–सूर्यकुण्ड सडक निर्माण सम्पन्न गरी सूर्यकुण्ड क्षेत्रको संरक्षण तथा कृषि र होमस्टे प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ। रासताल, शंकरवेली सिमसार र अमाह सिमसार हुँदै तराईलाई धरानसँग जोड्ने रणनीतिक सडक सञ्जाल विस्तार गर्ने लक्ष्य पनि लिइएको छ।

पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षण

धरानबाट भेडेटार हुँदै नाम्जेसम्म सञ्चालन गर्ने प्रस्तावित केवलकार निर्माणका लागि सार्वजनिक–निजी साझेदारी नीतिअन्तर्गत सहजीकरण गरिने घोषणापत्रमा उल्लेख छ। ऐतिहासिक महत्व बोकेका विजयपुर दरबार तथा हिन्दुपति दरबार लगायत क्षेत्रको संरक्षण तथा पुनर्निर्माण गर्ने, धरान–१४ स्थित बहुजातीय सङ्ग्रहालय सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाइएको छ।

खेल क्षेत्रको विकासअन्तर्गत खेलमैदान संरक्षण तथा स्तरोन्नति, खेलाडीको व्यवसायिक सुरक्षाका लागि पहल तथा धरान रङ्गशालामा प्यारापिट निर्माण सम्पन्न गरी रात्रीकालीन खेल सञ्चालनका लागि बत्ती जडान गर्ने योजना सार्वजनिक गरिएको छ।

स्वास्थ्य र शिक्षा सुधारको प्रतिबद्धता

स्वास्थ्य क्षेत्रतर्फ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई स्वायत्त विश्वविद्यालयका रूपमा विकास गरी गुणस्तरीय स्वास्थ्य सेवा र उत्कृष्ट स्वास्थ्य शिक्षाको केन्द्र बनाउने लक्ष्य लिइएको छ। तत्काल आइसियु सेवा तथा मर्चरी क्षमताको विस्तार, प्रतिष्ठानसँग सहकार्य गरी धरान नगर अस्पताल सञ्चालन, चतरा प्राथमिक स्वास्थ्य केन्द्र तथा ग्रामीण स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने प्रतिबद्धता उल्लेख छ।

शिक्षा क्षेत्रमा गुणस्तरीय पूर्वाधार, प्राविधिक शिक्षा विस्तार र स्थानीय आवश्यकताअनुसार सीपमूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य घोषणापत्रमा समेटिएको छ।

खानेपानी, सरसफाइ र बस्ती व्यवस्थापन

धरानको खानेपानी वितरण प्रणाली सुदृढ गर्दै शहरी तथा ग्रामीण क्षेत्रमा सहज आपूर्ति सुनिश्चित गर्ने, पूर्ण सरसफाइयुक्त क्षेत्र निर्माण गर्ने योजना अघि सारिएको छ। वडा नं. ६ मा निर्माण सम्पन्न फोहोरमैला प्रशोधन केन्द्र पूर्ण सञ्चालनका लागि नीतिगत सहजीकरण गरिने उल्लेख छ।

भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास क्षेत्रको समस्या समाधानका लागि भूमि आयोगमार्फत सुरु भएको कार्यलाई तीव्रता दिई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाइएको छ।

कृषि र ‘इकोनोमिक करिडोर’ अवधारणा

सेउती, सर्दु, सेहरा, पोखरा, अँधेरी, कोकाह, पटनाली, बाघखोला र हैटाखोलामा कटान नियन्त्रण तथा तटबन्ध निर्माण, वडा नं. ६ को औद्योगिक क्षेत्र सञ्चालन, आधुनिक कृषि प्रणाली र दिगो सिँचाइ व्यवस्थापनमा जोड दिइएको छ। स्थानीय तहमा कृषि प्राविधिकको अनिवार्य व्यवस्था गर्न पहल गरिने जनाइएको छ।

‘इकोनोमिक करिडोर’ अवधारणाअनुसार धरानका ४, ५, ६, ८, ११, १७ र २० वडासहित ४२ किलोमिटर सडक निर्माण गर्ने योजना सार्वजनिक गरिएको छ। धरान सभागृह तथा नाटकघर निर्माण सम्पन्न गर्ने, धरान–लेउती सुरुङमार्गको सम्भाव्यता अध्ययन पूरा गरी निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ।

प्रतिबद्धता कार्यान्वयनमा दृढता

कार्यक्रममा बोल्दै उम्मेदवार टिकाराम लिम्बू ले सार्वजनिक प्रतिबद्धताप्रति इमान्दार र दृढतापूर्वक लाग्ने बताउनुभयो। उहाँले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्दै विकास योजनालाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

एमालेले सार्वजनिक गरेको घोषणापत्रले सुनसरी–१ लाई पूर्वाधार, सेवा र उत्पादनमा आत्मनिर्भर तथा समुन्नत क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ। अब यी योजना कार्यान्वयनको चरणमा कसरी रूपान्तरित हुन्छन् भन्ने विषय मतदाताको चासोको केन्द्रमा रहने देखिन्छ।