भोजपुर / नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा पार्टीका सचिव शेरधन राईले भोजपुरका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखी उहाँले जिल्लाको समग्र विकासका लागि विभिन्न योजना अघि सार्नुभएको हो।
उम्मेदवार राईले सार्वजनिक गर्नुभएको प्रतिबद्धता पत्रमा पार्टीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षालाई स्थानीय तहसम्म कार्यान्वयन गर्ने लक्ष्य उल्लेख गरिएको छ। भोजपुरको विकासका लागि पूर्वाधारलाई आधारस्तम्भका रूपमा अघि सार्दै उहाँले जिल्लाभित्रका अधुरा सडक तथा पुल निर्माण कार्यलाई सम्पन्न गर्ने र नयाँ संरचना निर्माणलाई तीव्रता दिने बताउनुभएको छ।
टक्सार बजारको ऐतिहासिक पहिचान संरक्षण गर्दै त्यसलाई सम्पदायुक्त र व्यवस्थित बजारका रूपमा विकास गर्ने योजना पनि उहाँले सार्वजनिक गर्नुभएको छ। मध्यपहाडी राजमार्गसँग जोडिएका मुख्य बजार केन्द्र तथा पालिका केन्द्रहरूमा ढल निकास, सरसफाइ र संरचनागत व्यवस्थापन गरी व्यवस्थित बजार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। जोखिमयुक्त तथा छरपस्ट बस्तीको व्यवस्थापन गर्दै एकीकृत बस्ती निर्माणका लागि पहल गरिने उहाँको भनाइ छ।
कृषि क्षेत्रलाई आयआर्जनको प्रमुख आधार बनाउने लक्ष्यसहित सिँचाइ सुविधा विस्तार, गुणस्तरीय मल–बीउको उपलब्धता तथा आधुनिक प्रविधिको प्रयोगमा जोड दिइने प्रतिबद्धता पत्रमा उल्लेख छ। उच्च मूल्यका खाद्यान्न, फलफूल, जडीबुटी, चिया, कफी, अलैंची, अदुवा, रुद्राक्ष र बोधिचित्त उत्पादनमा विशेष कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। किसानहरूले भोग्दै आएको बाँदर आतंक नियन्त्रणका लागि आवश्यक पहल गरिने र गाँजाको व्यावसायिक खेतीका लागि कानुनी व्यवस्था संशोधनतर्फ पहल गरिने उल्लेख छ।
पर्यटन प्रवर्द्धनअन्तर्गत भोजपुरको पहिचानका रूपमा रहेको मुन्दुम पदमार्ग लाई थप विस्तार गरी आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। साथै, स्थानीय भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा जोड दिइने बताइएको छ।
युवा लक्षित कार्यक्रमअन्तर्गत सामूहिक उद्यमशीलता तथा आत्मनिर्भर कार्यक्रम सञ्चालन गरी रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाइएको छ। स्वास्थ्य क्षेत्रतर्फ जिल्ला अस्पतालमा आधुनिक उपकरण जडान तथा दक्ष जनशक्ति व्यवस्थापन गरी सेवा स्तरोन्नति गरिने उल्लेख छ। पालिका तहका स्वास्थ्य संस्थामा पनि सेवा सुदृढीकरणका लागि पहल गरिने जनाइएको छ।
शिक्षा क्षेत्र सुधारका लागि नयाँ संघीय शिक्षा/विद्यालय शिक्षा ऐन जारी गर्न भूमिका खेल्ने तथा शिक्षाको गुणस्तरमा एकरूपता कायम गर्न पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।
उम्मेदवार राईले प्रस्तुत गर्नुभएको प्रतिबद्धता पत्रले भोजपुरको समग्र विकासलाई लक्षित गरेको जनाइएको छ।



















