इटहरी । सुनसरी क्षेत्र नम्बर ३ की भगबती चौधरी ले पूरा गर्न नसकिने आश्वासन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
इटहरीमा आयोजित बुद्धिजीवीहरूसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले स्पष्ट रूपमा भन्नुभयो, “म ठूलाठूला तर पूरा हुन नसक्ने झुठा आश्वासन दिन्नँ। जे प्रतिबद्धता जनाउँछु, त्यो पूरा गरेर देखाउँछु।”
उहाँले सुनसरी क्षेत्र नम्बर ३ लाई मुलुककै १० नमुना निर्वाचन क्षेत्रमध्ये एकका रूपमा विकास गर्ने स्पष्ट योजना आफूसँग रहेको बताउनुभयो।
अघिल्लो निर्वाचनमा विजय कुमार गच्छदार लाई ५ हजार १८८ मतान्तरले पराजित गर्न सफल चौधरीले आफ्नो तीन वर्षे कार्यकालमा करिब सवा अर्ब रुपैयाँ विकास बजेट भित्र्याएको जानकारी दिनुभयो। उहाँका अनुसार तीमध्ये धेरै योजना सम्पन्न भइसकेका छन्, केही सञ्चालनमा छन् भने केही अधुरा रहेकाले ती पूरा गर्न पुनः जिम्मेवारी दिन मतदातासँग आग्रह गर्नुभयो।
रोजगार सिर्जनालाई प्राथमिकतामा राख्दै उहाँले हालसम्म २ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी दिलाएको दाबी गर्नुभयो। आगामी दिनमा कम्तीमा ५ हजार युवालाई आफ्नै घरमै बसेर आम्दानी गर्न सक्ने वातावरण निर्माण गर्ने योजना रहेको पनि सुनाउनुभयो।
सामाजिक उत्तरदायित्वअन्तर्गत २७५ एकल, दलित तथा विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिसकेको जानकारी दिँदै उहाँले आगामी दुई वर्षभित्र थप ४ सय विपन्न परिवारलाई आवास उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अन्तरक्रियामा सहभागी बुद्धिजीवीहरूले चौधरीको स्वच्छ छविको प्रशंसा गर्दै पूरा गर्न नसकिने वाचा नगर्न, अन्य उम्मेदवारको आलोचना नगर्न र आफ्ना उपलब्धि तथा योजनाहरू घरदैलोमार्फत जनतासम्म पुर्याउन सुझाव दिएका थिए।
उनीहरूले साना देखिए पनि परिणाममुखी र दिगो प्रभाव पार्ने काममा ध्यान केन्द्रित गर्न आग्रह गरे। चौधरीले प्रतिबद्धता पत्र सार्वजनिक गर्नु अघि बुद्धिजीवीहरूसँग परामर्श गरेको बताइएको छ।
कार्यक्रममा तीन दर्जनभन्दा बढी सहभागीहरूको उपस्थिति थियो, जसमा एमाले मात्र नभई अन्य दलप्रति आस्था राख्ने तथा स्वतन्त्र बुद्धिजीवीहरू पनि सहभागी थिए।



















