धरान। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबारदेखि औपचारिक रूपमा चुनावी प्रचार–प्रसार सुरु भएको छ। उम्मेदवारी मनोनयनपछि दलहरूले आन्तरिक रूपमा गतिविधि बढाए पनि कानुनी रूपमा भने मतदान मितिभन्दा १५ दिनअघि मात्रै जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार गर्न पाइने व्यवस्था रहेको छ।
निर्वाचन आयोग ले फागुन ४ गतेदेखि प्रचार–प्रसार गर्न पाउने समय तोकेको थियो। सोहीअनुसार अब फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले मतदातासमक्ष औपचारिक रूपमा मत माग्न सक्नेछन्।
आयोगले निर्वाचनको निष्पक्षता र विश्वसनीयतालाई उच्च प्राथमिकता दिन सबै दल, उम्मेदवार तथा सरोकारवालालाई निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ। आचारसंहिता उल्लङ्घनका घटनामा ‘शून्य सहनशीलता’ नीति अपनाइने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले जानकारी दिएका छन्। उल्लङ्घन पुष्टि भए स्पष्टीकरण सोध्ने, सचेत गराउने, दण्ड–जरिवाना गर्ने तथा गम्भीर अवस्थामा उम्मेदवारी खारेजीसम्मको कानुनी व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ।
आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिरहेको जनाएको छ। दल तथा उम्मेदवारहरूले पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममार्फत तोकिएको मापदण्डभित्र रहेर विज्ञापन गर्न सक्नेछन्। आमसभा वा कोणसभा गर्दा मञ्च व्यवस्थापनलगायत भएको खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने प्रावधान छ।
यसैबीच, सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले चेतावनी दिएको छ। निर्वाचनलाई प्रभाव पार्ने नियतले गरिने यस्ता गतिविधिमाथि कडा निगरानी राखिने जनाइएको छ।
आयोगका अनुसार राजनीतिक दलहरूले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्। अबको १५ दिन दल र उम्मेदवारका लागि मतदातासमक्ष आफ्ना एजेण्डा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा रहनेछ।




















