धरान । सुनसरी क्षेत्र नं. १ मा आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि लोकतान्त्रिक लिम्बू संघले संयुक्त निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ ।
लोकतान्त्रिक लिम्बू संघका प्रदेश अध्यक्ष नरेश इवारमको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।
माघ २० गते मंगलबार एमालेको पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरी कमिटी घोषणा गरिएको हो । प्रतिनिधि सभा सदस्यका उम्मेदवार टिकाराम माङ्लेन लिम्बूको चुनावी अभियानलाई थप सशक्त बनाउन लोकतान्त्रिक लिम्बु संघ, सुनसरी जिल्ला कमिटीले यस कार्यक्रमको आयोजना गरेको हो।
'निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान' भन्ने नाराका साथ अघि बढेको एमालेले यस क्षेत्रमा आफ्नो पकड बलियो बनाउन विभिन्न तहका कमिटीहरूलाई परिचालन गर्ने रणनीति लिएको छ।
कार्यक्रममा लोकतान्त्रिक लिम्बु संघका केन्द्रीय, प्रदेश र नगर कमिटीका प्रतिनिधिहरूको समेत विशेष उपस्थिति रहेको छ । निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको यस घोषणा कार्यक्रमले स्थानीय स्तरमा पार्टीको संगठन विस्तार र चुनावी प्रचारलाई नयाँ उचाइ दिने सङ्घका कोशी प्रदेश अध्यक्ष नरेश इवारमले बताउनु भयाे ।



















