धरान / कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको धरान–१३ स्थित जिरोपोइन्ट क्षेत्र सवारी दुर्घटनाको ‘हटस्पट’ बन्दै गएपछि स्थानीय बासिन्दाले गम्भीर चिन्ता व्यक्त गरेका छन् । बारम्बार हुने दुर्घटनाबाट ठूलो जनधनको क्षति हुन थालेपछि स्थानीय राजनीतिक दल, सङ्घ–संस्था तथा समाजसेवीहरूले बुधबार वडा कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सन् १९८२ मा निर्माण सम्पन्न भएको यो सडक पूर्वी पहाडी जिल्लाहरूलाई तराईसँग जोड्ने लाइफलाइन मानिन्छ । तर, साँघुरो सडक, तीव्र ओरालो र अव्यवस्थित बजारीकरणले गर्दा यो खण्ड पछिल्लो समय मृत्युमार्गका रूपमा चिनिन थालेको छ । स्थानीयका अनुसार भेडेटारको कठिन ओरालो काटिसकेपछि शिवधारा क्षेत्रमा सडक केही समतल देखिने हुँदा चालकहरूले तीव्र गतिमा सवारी गुडाउने गरेका छन्, जसले गर्दा अनियन्त्रित भई दुर्घटना हुने गरेको छ ।

स्थानीय तथ्याङ्कलाई आधार मान्ने हो भने  २०८२ सम्मको अवधिमा जिरोपोइन्ट क्षेत्रमा भएका दुर्घटनामा परी १९ जनाले ज्यान गुमाइसकेका छन् भने सयौँ अंगभंग भएका छन् । स्थानीय समाजसेवी हरिबहादुर कार्की भन्नुहुन्छ, “पछिल्ला वर्षहरूमा हरेक एक–दुई वर्षको अन्तरालमा यहाँ ठूला दुर्घटना दोहोरिरहेका छन् । राज्यले यसको स्थायी समाधान नखोजे अझै धेरैले ज्यान गुमाउनुपर्ने अवस्था छ ।” बुधबार पनि एक माेटरसाइकल र सिटी सफारी एक आपसमा ठाेकिएकाे थियाे

पछिल्लो दुःखद घटना : गत माघ ४ गते को.१ ख ७११९ नम्बरको स्कुल बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । पहाडी सडकको अनुभव नभएका चालकले इन्धन बचाउन 'न्युट्रल' मा गाडी गुडाउँदा ब्रेक फेल भई सो दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

वडाको प्रयास र आगामी योजना

धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले दुर्घटना न्यूनीकरण आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । उहाँका अनुसार सडक डिभिजन कार्यालयले केवल सूचना बोर्ड राख्ने र रङ लगाउने जस्ता सतही काम मात्र गर्दा जोखिम कम हुन सकेको छैन ।
वडाध्यक्ष  नेत्र काफ्लेका अनुसार माथिबाट ब्रेक फेल भएर आउने गाडीलाई रोक्न वडाले आफ्नै पहलमा माटोको ढिस्को (खाल्डो) निर्माण गरेको छ ।ट्राफिक पोष्ट स्थापना गरी निगरानी बढाइएको छ ।
विज्ञ टोलीको परामर्शमा ब्यारिकेड, स्पिड ब्रेकर (हम्प्स) र फलामे रेलिङ निर्माण गर्ने योजना रहेको छ ।

वडा कार्यालयले प्राप्त ज्ञापनपत्रलाई धरान उपमहानगरपालिका, सडक डिभिजन र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पठाउने वडाध्यक्ष काफ्लेले जानकारी दिनु भयाे ।