धरान । धरान र सुनसरी क्षेत्र नं‍. १ को गुम्दै गएको साख, पहिचान र विकासलाई पुनर्जीवित गर्ने लक्ष्यसहित आफू उम्मेदवार बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा उम्मेदवार मनोज भट्टराईले बताउनु भएको छ । 

धरान–३ स्थित सदन रोडमा सोमबार नेकपाको सुनसरी–१ निर्वाचन सचिवालय उद्घाटन कार्यक्रममा आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै भट्टराईले धरानका विकट क्षेत्रलाई सडक सञ्जालले जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने विषयलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ।

उहाँले धरान विगतमा पर्यटकीय, सांस्कृतिक, शैक्षिक, खेलकुद तथा फेसन सहरका रूपमा चिनिएको स्मरण गराउँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस र महेन्द्र बहुमुखी क्याम्पसजस्ता संस्थाले देशलाई दक्ष जनशक्ति दिएको उल्लेख गर्नु भयो । तर पछिल्लो समय धरानको शैक्षिक र सामाजिक वातावरण कमजोर बन्दै गएको तथा दुर्व्यसनजस्ता समस्या बढेको भन्दै त्यसको समाधानमा केन्द्रित भएर उम्मेदवारी दिएको उहाँको भनाई छ । 

भट्टराईले बाँझगरा–नडाह–धरान, कालापानी–भल्लोचौर–विष्णु पादुका–धरान तथा पाञ्चायन–हरियाली सडक खण्डलाई आफ्नो कार्यकालमा पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । साथै विष्णु पादुका र चिण्डेडाँडाको पर्यटन प्रवर्द्धन र स्थानीय कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउने वातावरण निर्माण गर्ने उहाँको योजना रहेको छ । 

चुनावको बेला मात्र देखिने र जितेपछि हराउने प्रवृत्तिको अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै उहाँले हार–जित जे भए पनि सधैं यस क्षेत्रका जनताको सुख–दुःखमा साथ रहने भावनात्मक प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

कार्यक्रममा नेकपाका  प्रदेश सह–इन्चार्ज तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले धरानको खानेपानी, सडक पूर्वाधार र सुकुम्बासी समस्या पार्टीको मुख्य एजेन्डा रहेको बताउनु भएको छ । उहाँले विकासका मुद्दा प्रभावकारी रूपमा उठाउन सुनसरी–१ बाट मनोज भट्टराईलाई विजयी गराउन आग्रह गर्नु भएको छ ।