हङकङ । लिम्बु समुदायको मौलिक संस्कार, संस्कृति र परम्परालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘सेमिफुङ’ हङकङमा प्रदर्शन हुने भएको छ। याक्थुङ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको हङकङ प्रदर्शन याक्थुङ मुन्चइत चौक सराङ हङकङको आयोजनामा हुन लागेको हो।
निर्देशक रणवीर लिम्बु शेर्माले निर्देशन गरेको ‘सेमिफुङ’ ले आधुनिकतावाद र सामाजिक विभेदका कारण लिम्बु समुदायको संस्कार र संस्कृतिमा परेको प्रभावलाई कथावस्तु बनाएको छ। चलचित्रमा बविन आङदाम्बे, चन्दा थेगिम, सतिका सुव्बा, सिडी वेघा, निर्मला देवान, सङ्गीता लावती र त्रिभुवन लुङफुङा लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।
हङकङस्थित याउ मा तेइ कम्युनिटी हलमा आगामी फेब्रुअरी १ तारिखका दिन चलचित्रको विशेष प्रदर्शन हुने तय भएको छ। कलाकार सङ्गीता लावतीका अनुसार ‘सेमिफुङ’ नेपाली खस र लिम्बु भाषा दुवैमा निर्माण गरिएको चलचित्र हो, जसको अर्थ ‘उज्यालो फूल’ हुन्छ।
लिम्बु समुदायको मौलिक संस्कार र पहिचानलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले चलचित्रलाई अन्तर्राष्ट्रिय प्रदर्शनमा लैजान लागिएको निर्माण टिमले जनाएको छ। हङकङमा पहिलोपटक अन्तर्राष्ट्रिय रूपमा प्रदर्शन हुन लागेको चलचित्र त्यसपछि युके, दक्षिण कोरिया लगायतका विभिन्न देशहरूमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको कलाकार लावतीले जानकारी दिनु भयो ।
बविन आङदाम्बे र शेरबहादुर पतङवाको निर्माणमा बनेको ‘सेमिफुङ’को कथा तथा संवाद राज थापा काउचाको रहेको छ। चलचित्रको छायांकन विक्रम डिसी, भोगेन्द्र याम्फु, सन्देश मोथे र सुमन तामाङले गर्नु भएको छ । इलाम जिल्लाको माङसेबुङ क्षेत्रमा छायांकन गरिएको चलचित्रमा डिल्ली फोम्बो र अशोक लोहोरुङोको संगीत रहेको छ।
निर्माण पक्षका अनुसार चलचित्र ‘सेमिफुङ’को कुल लगानी करिब ५५ लाख रुपैयाँ रहेको छ।




















