धरान । नेकपा एमाले भोजपुरले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका केन्द्रीय सचिव शेरधन राईको नाम एकल रूपमा सिफारिस गरेको छ। आज बसेको जिल्ला कमिटी बैठकले सर्वसम्मत रूपमा राईको नाम सिफारिस गर्ने निर्णय गरेको हो। बैठकमा पूर्वजिल्ला अध्यक्ष शरणकुमार राईले प्रस्ताव र युवा नेता रोशन बस्नेतले समर्थन गर्नु भएको थियो । जिल्ला सचिव एक्सन राईका अनुसार कुनै वैकल्पिक नाम नआएकाले शेरधन राईको एकल सिफारिस गरिएको हो ।

शेरधन राई भोजपुरको राजनीतिक इतिहासमा अनुभवी र प्रभावशाली नेताका रूपमा परिचित हुनु हुन्छ । २०५६ सालको संसदीय निर्वाचनमा मात्र २८ वर्षको उमेरमा विजयी हुँदै उहाँ देशकै सबैभन्दा कान्छा सांसदको इतिहास बनाउनु भएको थियो । भोजपुरबाट उहाँले तीनपटक प्रतिनिधिसभा निर्वाचन जितिसक्नु भएको छ । २०६४ को संविधानसभा निर्वाचनमा साबिक भोजपुर–२ बाट माओवादी नेता सुदन किरातीसँग पराजित भए पनि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उहाँले नै किरातीलाई पराजित गर्दै पुनः संसद प्रवेश गर्नु भएको थियो । 

२०७४ सालमा प्रदेशसभा निर्वाचनमा प्रदेशसभा ‘ख’ बाट नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीलाई पराजित गर्दै कोशी प्रदेशसभा सदस्य बन्नु बन्नु भएका राई २०७९ सालको निर्वाचनमा भने सुदन किरातीसँग २ हजार ३८५ मतान्तरले पराजित हुनु भएको थियो । 

शेरधन राई कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री हुन्। मुख्यमन्त्रीका रूपमा उहाँले प्रदेश संरचना निर्माण, कानुनी आधार तय, प्रदेशस्तरीय कार्यालय स्थापना, पूर्वाधार विकासको प्रारम्भ, कृषि, पर्यटन र रोजगारी प्रवर्द्धनका कार्यक्रम अघि बढाउनु भएको थियो । सीमित स्रोतसाधनका बाबजुद प्रदेश सरकारलाई संस्थागत गर्न उहाँले खेलेको भूमिका उल्लेखनीय मानिन्छ। साथै, प्रदेश–संघ समन्वय मजबुत बनाउने, सुशासन र प्रशासनिक सुधारमा जोड दिने प्रयास पनि उहाँको कार्यकालका मुख्य उपलब्धि मानिन्छन्। उहाँको पहलमा भोजपुरका विकास निर्माणका योजनाहरु तिव्र अगाडी बढीरहेको नेकाप एमाले भोजपुरले जनाएको छ । 

राईले संघीय सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ । हालै सम्पन्न नेकपा एमालेको ११औँ महाधिवेशनबाट उहाँ लोकप्रिय मतका साथ केन्द्रीय सचिवमा निर्वाचित हुनु भएको थियो । हालै बसेको सचिवालय बैठकले उहाँलाई पार्टीको कोशी प्रदेश इञ्चार्जको जिम्मेवारीसमेत दिएको छ । यस अघि पनि उहाँ प्रदेशको इञ्चार्जका रुपमा काम गरिरहनु भएको थियो । 

लामो राजनीतिक अनुभव, संगठन निर्माणमा सक्रिय भूमिका र प्रदेश तथा संघीय सरकार सञ्चालनको अनुभवका कारण भोजपुरमा उहाँलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ। एमाले भोजपुरले शेरधन राईको उम्मेदवारीले आगामी निर्वाचनमा पार्टीलाई मजबुत जित दिलाउने विश्वास व्यक्त गरेको छ।