काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीमा नयाँ अनुहारको प्रवेशलाई लिएर पार्टीभित्र उत्साह र चासो दुवै बढेको छ। केन्द्रीय डेब्युको तयारीमा रहेका केही नेताहरू नेतृत्वको ‘राडार’ मा परेका छन् भने हिजोसम्म संशयमा रहेकाहरू मनोनयनपछि थप उत्साहित बनेका छन्।
केन्द्रीय कमिटीमा इन्ट्री गर्न लागेकामध्ये मजदुर क्षेत्रबाट पार्टीमा पकड बनाएका नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई
यसपटक विशेष रूपमा चर्चामा रहनु भएको छ । संगठन निर्माणमा निपुर्ण राई मजदुर संगठन पार्टी जिल्ला कमिटी हुदैं हाल प्रदेश कमिटीमा रहनु भएको छ । राई संगठन निर्माण, कार्यकर्ता परिचालन र पार्टी अनुशासनको सवालमा कडा र स्पष्ट नेता रूपमा परिचित हुनुहुन्छ । कठिन परिस्थितिमा पनि पार्टीको झण्डा नझुकाउने अडान र निरन्तर संगठन विस्तारमा खेलेको भूमिकाका कारण उनी नेतृत्व तहको नजरमा पनि पर्नु भएको छ । मजदुर, आदीबासीजनजाती कोटा वा खुल्ला जुनसुकैबाट आफ्नो दावी रहने उहाँ बताउनु हुन्छ ।
पार्टी स्रोतका अनुसार देशभरी संगठन विस्तार र जनसम्पर्कको आधार मजबुत बनाउन उहाँले खेलेको भूमिका, नेतृत्वको सशक्त उपस्थितिलाई अगाडि बढाएको योगदान र स्पष्ट राजनीतिक दृष्टिकोणका कारण राई केन्द्रीय सदस्यमा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ।
यस्तै यसपटक केन्द्रीय कमिटीमा प्रवेशको तयारीमा रहनु भएका अर्का चर्चित युवा नेता हुन् सुहाङ नेम्वाङ। १०औँ महाधिवेशनबाट उपाध्यक्ष बनेका सुवास नेम्वाङका छोरा सुहाङ, बाबुको निधनपछि इलाम–२ को उपनिर्वाचनमा सानदार जित निकाल्दै राष्ट्रिय राजनीतिमा उदाउनु भएको हो । महाधिवेशनस्थलमा प्रतिनिधिहरूको आकर्षणको केन्द्र बनेका सुहाङलाई धेरैले केन्द्रीय सदस्यका रूपमा हेर्न चाहेको बताएका छन्। भीमज्वाला र उहाँसँग फोटो खिच्ने प्रतिनिधिको भिडले पनि उहाँहरुको लोकप्रियता झल्काउँछ।
यस्तै, केन्द्रीय सदस्यमा प्रवेश गर्न लाग्नु भएकी अर्की चर्चित अनुहार हुन् सुनिता डंगोल। काठमाडौं महानगरपालिकाकी उपमेयर डंगोल स्पष्ट वक्ता र मोटिभेसनल स्पिकरका रूपमा परिचित हुनुहुन्छ । महानगरमा मेयर बालेन शाहसँगको द्वन्द्व र समन्वय दुवै परिस्थितिमा पार्टीको पक्ष मजबुत रूपमा प्रस्तुत गर्दै आउनु भएकी डंगोल नेतृत्वको नजरमा पर्नु भएको छ । महाधिवेशन प्रतिनिधिमा मनोनयन भएपछि उहाँको केन्द्रीय सदस्य बन्ने बाटो खुलेको हो।
बागलुङ एमालेका अध्यक्ष हीराबहादुर केसी एक प्रमुख दाबेदारका रूपमा देखिनु भएको छ । दोस्रो कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिरहनु भएका केसीलाई यसपटक केन्द्रीय सदस्यको प्रबल उम्मेदवार मानिएको छ।
ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य पनि मनोनयनसँगै आफूलाई सशक्त दाबेदारका रूपमा उभ्याउँदै सक्रिय लबिङमा जुटनु भएको छ । स्थानीय तहमा संगठन विस्तार र पार्टीको उपस्थिति मजबुत बनाएको श्रेय उहाँलाई छ ।
शनिवार उद्घाटन भएको महाधिवेशनको आइतबार बन्दसत्र सुरु भएको छ । भृकुटीमन्डप हलभित्र प्रतिनीधिहरुको चहलपहल छ भने बाहिर शुभचिन्तक पार्टी नेता कार्यकर्ताहरु आफु निकटका नेतालाई जिताउन भोट माग्न सुरु गरेका छन् । आकांक्षीहरूको चहलपहल र लबिङ तीव्र बनेको छ। अब नेतृत्वले कुन अनुहारलाई केन्द्रीय कमिटीमा स्थान दिन्छ भन्ने चासो पार्टीभित्र र बाहिर दुवैतर्फ बढ्दै गएको छ।
आइतबार बसेको केन्द्रीय कमिटीको निर्णयले केन्द्रीय कमिटीमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी पोलिटब्युरोको एक तिहाई हुने, पोलिटब्युरो ९९ सहित केन्द्रीय कमिटी ३०१ जनाको बनाउने भए पछि धेरै नेताहरु समेटिने भएका छन् ।



















