धरान /  मंसिर २७–२९ मा काठमाडौंमा सम्पन्न हुने एमालेको ११ औँ महाधिवेशनमा पत्रकारिता क्षेत्रबाट एमाले राजनीतिमा उदाएका दुई नेताले पार्टी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । 

प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अर्याल र प्रेस चौतारी नेपालका पूर्व सुनसरी अध्यक्षसमेत रहनु भएका मजदुर नेता भीमज्वाला राईले उम्मेदवारी दिने भएका हुन् । उहाँसँग लामो समय धरानबाट प्रकासित ब्लाष्ट दैनिकको सह–सम्पादक र औजार दैनिकको सम्पादकको भूमिकामा रहेर काम गरेको अनुभव छ । 

कुसल संगठक बैचारिक नेताको रुपमा उदाएका गुल्मीका अर्यालले समकालीन पार्टी सहयोद्धा पार्टी नेतृत्वको उपल्लो तहमा पुगिसक्दासमेत उहाँ पार्टी संगठनको काममा निरन्तर काम गरिरहनु भएको छ । आफ्नो दावेदारी स्वाभाविक रहेको उहाँ बताउनु हुन्छ । 

भीमज्वाला राई पछिल्लो समय प्रेस चौतारी छाडेर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रीय अध्यक्षको रुपमा कार्यरत रहनु भएको छ । प्रष्ट वक्ता, निडर स्वभाव र पार्टी संगठनको काममा निरन्तर लागि रहने राई युवाहरु माझ लोकप्रिय हुनुहुन्छ । २०५८ सालमा पार्टी सदस्यता लिनु भएका राई पार्टीको कोशी प्रदेश कमिटी सदस्य तथा प्रचार विभाग उपप्रमुखको जिम्मेवारीमा समेत रहनु भएको छ । 

सुनसरी क्षेत्र नं. १ धरान भूगोल रहेको राई स्थानीय स्तरमा लोकप्रिय नेताको रुपमा परिचित हुनु हुन्छ । फागुन–२१ को निर्वाचनमा उहाँको चर्चासमेत भइरहेको स्थानीय कार्यकर्ताहरु बताउछन् । पार्टी नेतृत्वको सल्लाहा अनुसार मजदुर, आदीवासी वा खुल्ला क्लस्टरबाट उम्मेद्वारी दिने राईले बताउनु भएको छ । 

यता अर्यालले भने खुल्ला क्लस्टरबाट उम्मेद्वारी दिने बताउनु भएको छ । चौतारी अध्यक्षको अलावा एमालेको गुल्मी–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षको जिम्मेवारी पनि अर्यालले सम्मालिसक्नु भएको छ । उहाँले केही समय पार्टीको उपत्यका कमिटीको सचिवालयमा रहेर काम गर्नु भएको थियो । 

२०४७ सालमा एमालेको संगठित सदस्यता पाएका उनी २०७९ को निर्वाचनमा गुल्मीबाट गोकर्ण विष्टसँगै प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिससमेत हुनु भएको थियो । अर्र्याल १० औँ महाधिवेशनमै केन्द्रीय सदस्यका उम्मेदवार भए पनि सर्वसम्मतका नाममा फिर्ता लिनु भएको थियो ।