धरान / अवैध सामान ओसार पसार गर्ने पूर्वाञ्चल केरियर्सको प्रदेश–१–०१–००१ ख ४७५९ नम्बरको मालवाहक ट्रकलाई राजस्व अनुसन्धान कार्यालय, इटहरीले ३४ लाख ६२ हजार रुपैयाँ धरौटी लिएर छाडेको छ। राजस्व अनुसन्धान कार्यालय, इटहरीले असोज ७ गते  नियन्त्रणमा लिएको सो ट्रकलाई आवश्यक प्रक्रिया पूरा गरी सोमबार छाडिएको कार्यालयले जनाएको छ । 
कार्यालयका सूचना अधिकारी विदुर गौतमका अनुसार झापाबाट काठमाडौंतर्फ गइरहेको उक्त ट्रकलाई असोज ७ गते विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको थियो। चोरी–पैठारीमार्फत भित्र्याइएका ठूलो परिमाणका मालवस्तु बिना बिल–बीजक फेला परेपछि ट्रकसहित सामान जफत गरिएको कार्यालयले जनाएको छ।
ट्रकमा भारतमा उत्पादित विभिन्न चकलेट (डेरी मिल्क), मिक्सचर ग्राइन्डर, नभुटेको काजु, नेस्ले एभ्रिडे पाउडर मिल्क, गुडरिक चिया, भेष्ट, सेतो केराउ, कफी दाना लगायतका सामान फेला परेको अधिकृत गौतमले जानकारी दिनु भयो । यीमध्ये धेरै सामानको उत्पादन स्रोत नखुलेको र कुनै किसिमको बिल–बीजक नदेखिएकाले कानुनबमोजिम कारबाही गरिएको उहाँको भनाई छ ।
गौतमका अनुसार ट्रकमा १८ ग्रामका डेरी मिल्क ३८४० पिस, ४० ग्रामका डेरी मिल्क १४४० पिस, १०५ ग्रामका मिल्क डेरी मिल्क ८८० पिस, मिक्सचर ग्राइन्डर (३ जार) १२० थान, नभुटेको काजु ४ सय केजी, एभ्रिडे पाउडर मिल्क ३ सय १५ केजी, गुडरिक चिया १२५४ केजी, साधारण भेष्ट ४ सय थान, स्रोत नखुलेको सेतो केराउ १३८० केजी तथा नभुटेको कफी दाना १३२० केजी जफत गरिएको थियो।
जफत गरिएका सामानको वास्तविक धनी कोही नदेखिएकाले पूर्वाञ्चल केरियर्सले नै जिम्मेवारी लिँदै ३४ लाख ६२ हजार रुपैयाँ धरौटी राखेर मालवाहक ट्रक फिर्ता लिएको कार्यालयले जनाएको छ। सेतो भटमास १५ सय केजीको विल विजक भए पनि सामान भने नभेटिएको कार्यालयले जनाएको छ । ती बरामद गरिएका सामान लिलामी प्रक्रिया पुराएर विक्रि गरिने कार्यालयले जनाएको छ ।