झापा / सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको झापा जिल्ला समितिको बैठक बुधबार कन्काई माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। कार्यक्रममा नव–निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरणका साथै शैक्षिक क्षेत्रमा महासंघले गर्नुपर्ने आगामी गतिविधिबारे विस्तृत छलफल गरिएको थियो।
बैठकले विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि हुन नसक्नुका कारणहरूमा गहिरो समीक्षा गर्दै यसमा राजनीतिक हस्तक्षेप, अपर्याप्त बजेट, र आर्थिक स्रोतको अभाव मुख्य चुनौती भएको निष्कर्ष निकालेको छ। सहभागीहरूले स्थानीय तहले बजेट विनियोजन गर्दा विद्यालयको वास्तविक आवश्यकता र समस्या पहिचान नगरी पहुँच र प्रभावको आधारमा रकम वितरण गर्ने प्रवृत्तिले सुधारका प्रयासहरू कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरिएको थियो ।
बैठकमा सहभागीहरूका अनुसार, सामुदायिक विद्यालयको समग्र सुधारका लागि राष्ट्रिय तहमै बहस र नीति–गत निकास आवश्यक भएको र त्यसपछि मात्र कार्यान्वयन सहज हुने निष्कर्ष निकालिएको छ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश समितिका अध्यक्ष हरिबहादुर कार्कीले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति सशक्त र जिम्मेवार हुनुपर्ने बताउनु भयो । उहाँले शिक्षालाई राजनीति–मुक्त बनाएर शैक्षिक गुणस्तर र स्रोत–साधन सन्तुलनमा जोड दिनुपर्नेमा पनि जोड दिनुभयो ।



















