धरान  /  सुनसरीमा पछिल्लो तीन दिनयता फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड उल्लेख्य रूपमा बढेको छ। जिल्ला निर्वाचन कार्यालय, सुनसरीकी सूचना अधिकारी कुमारी आचार्यका अनुसार चाडपर्व सकिएसँगै दैनिक नाम दर्ता गर्न आउनेको संख्या ह्वात्तै बढेको हो।

उहाँका अनुसार शुक्रबार मात्र ४११ जनाले, जसमा महिला १७४ जना, मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।  बिहीबार ३ सयभन्दा बढीले नाम दर्ता गरेको कार्यालयले जनाएको छ । 

‘दीपावली, छठ, धातृनवमी, सामाचकेवा र कात्तिक पूर्णिमालगायतका चाडबाड सकिएपछि नाम दर्ता गर्न आउनेको चाप ह्वात्तै बढेको छ। विदा अवधिमा फाट्टफुट्ट आउँथे, अहिले भने प्रतिदिन उल्लेख्य संख्यामा नागरिक आउन थालेका छन् ।’–आचार्यले भन्नु भयो । 

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नाम दर्ता असोज १० गतेदेखि नै खुला गरिएको थियो। तर, चाडपर्वका कारण सुरुमा अपेक्षाकृत कम नागरिकले दर्ता गराएका थिए। तर केही दिन अघिदेखि ह्वात्तै बढेको कार्यालयले जनाएको छ । 

आचार्यका अनुसार फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने र यसअघि फोटोसहित नाम दर्ता गर्न छुटेका नागरिक अहिले ठूलो संख्यामा आउन थालेका छन् । जिल्ला निर्वाचन कार्यालयका अभिलेख अनुसार असोज १० देखि कात्तिक २१ गतेसम्म ४ हजार ७३५ जनाले फोटोसहित मतदाता नामावलीमा नाम समावेश गराएका छन्। तीमध्ये महिलाको संख्या २ हजार १८ रहेको छ।

२०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनयता हालसम्म ९ हजार ९०२ नयाँ मतदाता थपिएका छन्। तीमध्ये ५ हजार १६७ जनाले गत असार १६ गतेसम्म नाम अद्यावधिक गरेका थिए भने बाँकी असोज १० यता थपिएका हुन्।

२०७९ सालको निर्वाचनमा सुनसरीमा ५ लाख ४४ हजार ९८१ मतदाता रहेका थिए। अहिलेका नयाँ दर्ता थपिएपछि मतदाताको संख्या झनै बढ्ने अनुमान गरिएको छ।

निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म नाम दर्ता गर्न समय सीमा तोकेको छ। आयोगका अनुसार  www.election.gov.np  मा गएर अनलाइन फारम भरी नयाँ दर्ता, त्रुटी सच्याउने र ठेगाना परिवर्तन (स्थानान्तरण) गर्न सकिनेछ।

अनलाइन फारम भरेपछि अनिवार्य रूपमा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई बायोमेट्रिक विवरण (फोटो, औँठाछाप र हस्ताक्षर) दिने व्यवस्था गरिएको छ।

प्रदेश निर्वाचन आयोगका तथ्यांक अनुसार कोशी प्रदेशमा हालसम्म ३३ लाख ४७ हजार ३८४ जना, जसमा महिला १६ लाख ४७ हजार ५६१ जना, मतदाता नामावलीमा दर्ता भइसकेका छन्।