धरान / सप्तकोशी नदीमा पानीको बहाव असामान्य रूपले बढेपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ। आइतबार दिउसाे १ बजे ५ लाख १० हजार ९६० क्युसेक पानीको बहाव पुगेपछि प्रशासनले सुरक्षा सतर्कता अपनाउँदै ब्यारेज क्षेत्रबाट सवारीसाधन तथा पैदल यात्रुको आवतजावत रोकिएको जनाएको छ।
कोशी ब्यारेज कार्यालयका अनुसार पछिल्ला वर्षहरूमा यो सबैभन्दा उच्च बहाव हो। सन् १९८९ मा ब्यारेजमा ४ लाख ७२ हजार क्युसेक पानी बगेको रेकर्ड छ, तर यसपटक त्योभन्दा पनि बढी स्तरमा पानी पुगेको हो। लगातारको वर्षा र पहाडी क्षेत्रबाट आएको बाढीका कारण नदीको सतह तीव्र गतिमा बढेको जनाइएको छ।
बाढीको जोखिम बढेपछि सुनसरी र सप्तरीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। स्थानीय प्रशासनले नदी किनारका बस्तीहरूमा सूचनामार्फत सचेत रहन आग्रह गरेको छ। कोशी टप्पु र कोशी तटबन्ध आसपासका क्षेत्रमा प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले उद्धार तयारीसहित सतर्कता बढाएका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन वर्षा जारी रहने सम्भावना भएकाले नदी आसपासका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।