धरान /  संविधान दिवसको अवसरमा धरानमा शुक्रबार नागरिक अभियानको अगुवाइमा एक भव्य ¥याली निकालिएको छ। विभिन्न राजनीतिक दल, पेशाकर्मी, व्यवसायी तथा संघ–संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको उक्त ¥याली धरानको छाताचोकबाट सुरु भई भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

¥यालीमा सहभागीहरूले "संविधानको रक्षा गरौं", "सामाजिक सद्भाव कायम गरौं", "पहिचान र सहअस्तित्वको सम्मान गरौं" जस्ता नाराहरू लेखिएका प्लेकार्डहरू बोकेका थिए।

कोणसभामा सामाजिक अगुवा, नागरिक समाजका प्रतिनिधि तथा राजनीतिक दलका नेताहरूले सम्बोधन गरेका थिए। उनीहरूले संविधान जनताको बलिदान, संघर्ष र त्यागबाट प्राप्त भएको उल्लेख गर्दै यसको संरक्षण र प्रभावकारी कार्यान्वयनमा सबै एकजुट हुनुपर्नेमा जोड दिए।

साथै, संविधानमा समेटिएका मर्म र मूल्य आत्मसात गर्दै जनताले अनुभूति गर्न सक्ने गरी यसको कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्ने उनीहरूको भनाइ थियो।