धरान । जेन जी आन्दोलनको नाममा भदौ २४ गते धरानमा भएका सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनीविरुद्ध मंगलबार होटल व्यवसायी तथा पूर्व मेयर मनोज कुमार मेन्याङ्बोले किटानी जाहेरी दिनु भएको छ ।

धरानमा गठन भएको सर्वपक्षीय नागरिक बचाउ अभियान, विभिन्न राजनीतिक दलका नेता तथा पूर्व–वर्तमान जनप्रतिनिधिहरूको उपस्थितिमा मेन्याङ्बोले १२ जना विरुद्ध प्रहरीमा जाहेरी दर्ता गराउनु भएको हो । विभिन्न भिडियो फुटेज, तस्बिर र प्रमाणमा पहिचान भएका व्यक्ति विरुद्ध उजुरी दिइएको उहाँले बताउनु भयो । 

पूर्व मेयर मेन्याङ्बोले आफूले सञ्चालन गर्दै आएको होटल कञ्चनजंघामा तोडफोड, आगजनी र लुटपाट भएको दाबी गर्दै करिब ५३ लाख २३ हजार रुपैयाँभन्दा बढी क्षति पुगेको बताउनुभयो । कर्मचारीहरुलाई तलव खुवाउन राखेको ६ लाख रुपैयाँ नगदसमेत लुटिएको छ । सोही क्रममा संलग्न दुई जना सोमबार आत्मसमर्पण गरेर प्रहरीमा बुझाइएकोसमेत उहाँले बताउनु भयो । 

मेन्याङ्बोले भने, “होटलका भौतिक संरचना मात्र नभई भित्र रहेका सम्पूर्ण सामग्रीसमेत नष्ट गरिएको छ । यो राजनीतिक आन्दोलनको नाममा व्यक्तिगत पूर्वाग्रहका आधारमा योजनाबद्ध आक्रमण हो ।” उहाँले दोषी पहिचान गरेर हदैसम्मको कारबाही गर्न माग गरेका छन् । जाहेरी दर्ता पछि पत्रकारहरुसँग कुरा गदैं उहाँले भन्नुभयो -'धरानमा यत्रो सार्वजनिक तथा व्यक्तिगत सम्पतिको तोडफोड भयो तर नगर प्रमुख केही बोल्नुभएन । उहाँको अघि पछि हिड्नेहरु नै तोडफो८मा देखिएका छन् । यो विडमना हो ।'

धरानका मेयर हर्कराज राईले प्रयोग गर्ने माइकसहित आक्रमणकारीहरू पुगेको र कट्टर समर्थक मिलन बान्तवा राई प्रत्यक्ष संलग्न देखिएकाले  उहाँकाे दावी  छ । उजुरी दर्ता गराउने क्रममा निवर्तमान मेयर तिलक राई, निवर्तमान उपप्रमुख मञ्जु भण्डारी,  युवा विद्यार्थी व्यवसायीहरुकाे ठूलाे जमात भेला भएकाे थियाे । 

भाटभाटेनी सुपरमार्केट, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीका कार्यालयहरू, पूर्व मेयर मेन्याङ्बो, पूर्व सांसद जयकुमार राई, पूर्व उपमेयर मञ्जु भण्डारी, कांग्रेस नेता उमेश थापा, सुजेन्द्र तामाङ, कार्यपालिका सदस्य सिर्जना नेपाललगायतका घर र कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो । विहीबारसम्ममा सबैकाे क्षतिकाे विवरण सङ्कलन गरि जाहेरी दिइने  बताइएकाे छ । 

922a80fb-4365-4d5b-9849-ed0df1031da6