काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । देशको राजनीतिक संकट र जेन जी आन्दोलनको दबाबबीच शुक्रबार राति शीतल निवासमा आयोजित समारोहमा कार्कीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
नेपालको इतिहासमा प्रधानमन्त्री पदमा पुग्ने कार्की पहिलो महिला बन्नु भएको छ । २२० वर्षदेखि पुरुषप्रधान रहेको कार्यपालिकाको नेतृत्वमा महिला पुग्नु नेपालको लोकतान्त्रिक इतिहासको नयाँ अध्यायको रूपमा हेरिएको छ । जेन जी आन्दोलनबाट केपी ओली नेतृत्वको सरकार ध्वस्त भए पछि कार्कीले यो अवसर पाउनु भएको हो ।
सत्ता रिक्तताबिच राष्ट्रपति पौडेल र जेन जी प्रतिनिधिबीच शुक्रबार साँझ सहमति जुटेको थियो । राष्ट्रपति सुरुमा संसद विघटन गर्न अनिच्छुक रहनु भउको थियो । तर जनदबाब, आन्दोलनको चाप र नेपाली सेनाको सुरक्षा सिफारिसपछि संसद विघटन गर्ने निर्णयसहित अन्तरिम प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि सत्ताको रिक्तता कायमै थियो । भ्रष्टाचारविरोधी आन्दोलनमा सक्रिय रहेको जेन जी समूहले सुशीला कार्कीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको थियो । स्वतन्त्र, इमानदार र निर्णायक व्यक्तित्वका कारण कार्कीको नाममा राष्ट्रपतिको कार्यालय सहमत भएको हो ।
२०७३ सालमा नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी कार्कीले अब दोस्रोपटक नयाँ कीर्तिमान बनाउनु भएको छ । विराटनगरमा जन्मनु भएकी कार्कीसँग न्याय क्षेत्रको लामो अनुभव छ ।
प्रधानमन्त्री कार्कीको नेतृत्वमा बन्ने अन्तरिम मन्त्रिपरिषद्को स्वरूप र कार्यादेश अझै सार्वजनिक गरिएको छैन । निर्वाचनको तयारी, भ्रष्टाचार छानबिन र भदौ २३–२४ का घटनाहरूको अनुसन्धान अन्तरिम सरकारका मुख्य जिम्मेवारी हुने छन् ।