धरान  ।  जेन जी समूहले धरानमा दिउँसो शान्तिपूर्ण प्रदर्शन गरेका छन्। प्रदर्शनको क्रममा धरानका नगरप्रमुख हर्क साम्पाङले पनि उपस्थित भई जेन जी समूहको आन्दोलनलाई समर्थन जनाउँदै युवा पुस्तालाई सम्बोधन गरेका थिए। कार्यक्रम धरानको भानुचोकमा सम्पन्न भएको थियो।

तर, कार्यक्रम सम्पन्न भएपछि धरानका विभिन्न स्थानमा आगजनी र तोडफोडका घटनाहरू भएका छन्। धरान–१ स्थित नेकपा एमालेको पार्टी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । कार्यालयमा कोही पनि नरहेका बेला प्रदर्शनकारीहरू मुल गेट तोडेर भित्र पसेका थिए। फर्निचर तथा अन्य सामग्रीहरू बाहिर निकालेर जलाइएको छ। कार्यालय भवनको दुबै तलाका सिसा झ्यालहरू तोडफोड गरिएको छ।

यसैगरी, धरान–२ स्थित नेपाली काँग्रेसको कार्यालय र धरान–१४ स्थित नेकपा माओवादी केन्द्रको कार्यालयमा पनि तोडफोड गरिएको छ। पार्टी कार्यालय बाहिर रहेका काठका घरहरूका कारण छिमेकीहरूको आग्रहमा आगजनी नगरी तोडफोड मात्र गरिएको हो।

त्यस्तै, नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीको धरानस्थित निवासमा पनि समान बाहिर निकालेर तोडफोड तथा आगजनी गरिएको छ। पूर्व प्रतिनिधिसभा सदस्य जयकुमार राईको घरमा समेत आगजनी भएको जनाइएको छ। यस्तै नेपाली काँग्रेसका नेता उमेश थापा, धरान उमपहानगरकी कार्यापालिका सदस्य सिर्जना नेपालको घरमा पनि आगजनी गरेको इलाका प्रहरी कार्यालय धरानका डिएपी प्कास जवेगूले जानकारी दिनु भयो । 

धरानका पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बोको ‘कञ्चनजंघा होटल’ तथा व्यवसायी मीनबहादुर गुरुङको ‘भाटभटेनी सुपरमार्केट’मा पनि आगजनी भएको छ। साँझसम्म एक समूहले धरानभरि विभिन्न स्थानमा आगजनी गदैं हिडेको र जारी रहेको प्हरीले जनाएको छ ।