धरान / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा विस्तारको सिलसिलामा क्यान्सरका सिकिस्त बिरामीका लागि घरमै उपचार दिने सेवा सुरु गरेको छ । यस अतिरिक्त, मोबाइल एपमार्फत ओपीडी टिकट काट्न सकिने र ल्याब रिपोर्ट हेर्न सकिने सुविधा पनि सुरु गरिएको छ । 

अस्पताल आउन कठिन हुने क्यान्सर बिरामीलाई लक्षित गरी होम–केयर सेवा सुरु गरेको प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारले जानकारी दिनुभयो । यो सेवा अन्तर्गत सिकिस्त अवस्थामा घरमै थलिएर रहेका बिरामीलाई प्रतिष्ठानका चिकित्सक तथा क्यान्सरसम्बन्धी विशेष तालिम प्राप्त नर्सहरूको टोलीले घरमै पुगेर आवश्यक उपचार, लक्षण व्यवस्थापन, उपशामक सेवा, भावनात्मक र आध्यात्मिक सहयोग तथा पारिवारिक परामर्श प्रदान गर्ने छन् ।

हाललाई यो सेवा धरान उपमहानगरपालिका भित्र मात्र सीमित गरिएको छ । सेवाको शुल्क प्रति भिजिट १५ सय रुपैयाँ तोकिएको छ । विपन्न बिरामीलाई प्रतिष्ठानको नियमानुसार निःशुल्क सेवा उपलब्ध गराइने प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा. सञ्जिवकुमार शर्माले जानकारी दिनु भयो । यो सेवा काठमाडौं उपत्यका बाहिर पहिलोपटक सुरु भएको हो ।

मोबाइल एपमार्फत ओपीडी सेवा र ल्याब रिपोर्ट

प्रतिष्ठानले बिरामीहरूको सुविधालाई मध्यनजर गर्दै मोबाइल एपको नयाँ संस्करण सार्वजनिक गरेको छ । जसबाट बिरामीले अब घरमै बसेर सामान्य ओपीडीको टिकट दर्ता गर्न सक्ने छन् । एपमार्फत ओपीडी विभाग चयन गरी भुक्तानी गरेपछि टोकन नम्बर प्राप्त हुनेछ । जसको आधारमा सम्बन्धित ओपीडीमा आफुले चाहेको विशेषज्ञ चिकित्सक भेट्न पाउने छन् । 

प्रतिष्ठानको सूचना शाखाका अनुसार एपमार्फत ल्याब परीक्षण रिपोर्ट पनि हेर्न र डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ । सेवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध रहेको छ भने भुक्तानी क्ष्ःभ् एबथ वा खल्ती एपबाट गर्न सकिनेछ । यसबाट सेवाग्राहीलाई लामो लाइन बस्नुपर्ने झन्झटबाट राहत हुने अपेक्षा गरिएको छ । यस अघि प्रतिष्ठानले मोवाइल यप चलाए पनि प्रभावकारी थिएनन ।

विद्यार्थीका लागि छुट्टै स्वास्थ्य प्रवद्र्धन इकाई

प्रतिष्ठानले शैक्षिक क्षेत्रमा समेत सेवा विस्तार गर्दै विद्यार्थी स्वास्थ्य प्रवद्र्धन इकाई गठन गरेको छ । मानसिक रोग विभागकी डा. रिंकु गौतमको अध्यक्षतामा गठन भएको यो इकाईले विद्यार्थीको शारीरिक र मानसिक स्वास्थ्य सुदृढ गर्न विविध कार्यक्रम सञ्चालन गर्नेछ ।

विद्यार्थीका लागि व्यायामशाला, इनडोर–आउटडोर खेल, योगा कक्षा, ध्यान केन्द्र, साइकल भाडामा उपलब्धता, तनाव व्यवस्थापन कार्यशाला, सेमिनार, हेल्पलाइन फोन सेवा, छुट्टै ओपीडी सेवा लगायतका कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ ।