• रोमा छेत्री

 सिलिगुड़ी  / टिष्टा नदी भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लामा पर्दछ। टिस्टा नदी नेपाल अङ्ग्रेज युद्ध हुनु अगाडिसम्म नेपालको पूर्वी सिमाना थियो। यो नदीदेखि मेची नदीसम्मका सम्पूर्ण पहाडी तथा तराई भूभाग नेपाल सरकारले सुगौली सन्धि माफर्त ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकारलाई स्वामित्व हस्तान्तरण गरेको थियो । 

यस्तो भनिन्छ कि टिस्टा नदी भारतीय प्रान्त सिक्किमको जीवनरेखा हो, सिक्किम प्रान्तको जति लम्बाई छ लगभग पुरै लम्बाईबाट भएर बग्ने यो नदी वरदांत हिमालयको समसितोष्ण र नदीको घाटीबाट उष्णकटिबंध तापमानलाई काटेर लैजान्छ। चमकिलो हरियो रंगको यो नदी बङ्गलादेशको ब्रह्मपुत्र नदीमा मिल्नुभन्दा पहिलासम्म यो नदी सिक्किम र पश्चिम बङ्गालको सिमानाको रूपमा रहन्छ। यस नदीको सम्पूर्ण लम्बाई ३१५ किमी (१९६ माइल) रहेको छ।

पहाडबाट आएको टिष्टा नदीले पछिल्लो समय बर्खायममा ठूलो विनास गर्ने गरेको छ । प्रत्येक वर्ष यहाँ बर्खाको याममा टिष्टाले विकराल रुप लिएर ठूलो जनधनको क्षति पुर्याउदैं आएको छ । टिष्टाले कालेबुङ(सिक्किम जाने  आउने सड़क भत्काएर सागुरो बनाएको छ । पानी झरीको मौसम नभए पनि टिष्टाको सड़क कहालिलाग्दो रहेको स्थानीय बताउँछन् । कुनै पनि समयमा टिष्टाले सड़क सोहोरेर लान सक्ने सम्भावना देखिन्छ। यहाँको कालीझोड़ादेखि केही परतिर रहेको सेतीखोलाको अवस्था अत्यन्तै कहालीलाग्दो बनेको छ । भारत सरकारले टिष्टाबाट वरपरका बस्ती, सडक बचाउन बेलैमा सोच्नुपर्ने बेला आएको स्थानीय बताउँछन् । 

२०८० असोज १६मा सिक्किमको उत्तरी क्षेत्रमा अवस्थित ल्होनाक ताल फुट्दा टिस्टा नदीमा एक्कासि आएको बाढीले २३ भारतीय सैनिक बेपत्ता भए । २३ सैनिकका साथै अन्य सात जना पनि बाढीले बगाएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले उल्लेख गरेको थियो ।

नदीमा अचानक बाढी आएपछि चुंगथांगस्थित बाँधको ढोका खोल्नु परेको थियो । यसलगत्तै तल्लो क्षेत्रमा रहेको भूभाग डुबानमा परेको थियो भने सिंगताम क्षेत्रको बारदांगमा तैनाथ सेनाको ४१ सवारी साधन पनि बगाएको भारतीय सञ्चारमाध्यमले जनाएका थिए । 

त्यस बेला ताल फुटेपछि टिस्टा नदीको जलस्तर अचानक १५ देखि २० फिट बढेको थियो । नदी किनार क्षेत्रका घरहरुसमेत डुबानमा परेका थिए । यसअघि गत जुन १६ मा पनि सिक्किममा ताल फुट्दा अचानक बाढी आएको थियो । जसका कारण कयौँ मानिस प्रभावित भएका थिए । त्यस क्षेत्रका ६ वटा पुल बाढीले बगाएको थियो । 

tista