धरान । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)का विभिन्न विषयमा सरकारी स्वामित्वमा रहेका प्रतिष्ठान तथा कलेजहरुमा सिट थप गरेको छ । सरकारी स्वामित्वमा रहेका प्रतिष्ठान तथा कलेजमा गरेर स्नातकोत्तर तहका विभिन्न विषयमा २ सय ३१ सिट थप गरेको हो ।
धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ४० सिट थप गरिएको छ । अब पीजीमा सिट सङ्ख्या दुईसय पुगेको छ । प्रतिष्ठानमा एमडी, एमएस र एमडीएसको पीजीमा अध्यापन हुँदै आएको छ । सङ्ख्याको आधारमा नेपालकै सिटसङ्ख्या पाउनेमा सबैभन्दा बढी प्रतिष्ठानले पाएको छ । केही समयअघि प्रतिष्ठानमा चिकित्सकहरूको आन्तरिक बढुवा भएपछि पीजीको सिट सङ्ख्या बढेको हो । एकजना प्राध्यापक र एकजना सहायक प्राध्यापक बराबर ३ जना पीजीको विद्यार्थी कोटा हुने गरेको प्रतिष्ठानका डिन प्रा.डा. शिवेन्द्र झाले जानकारी दिनु भयो ।
प्रतिष्ठानमा सिट सङ्ख्या राम्रै हुनुपर्ने हो तर सरकारको पनि दायित्व थपिने भएकाले कोटाअनुसारको आयोगले नगर्ने गरेको उहाँको भनाइ छ । पीजी सिट थपिएको विषयमा प्रतिष्ठानमा आधिकारिक जानकारी भने नआइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानमा ७२ जना प्राध्यापक र २ सय ९३ जना फ्याकल्टीजहरू रहेका छन् । यस अघि १६० सिट प्रतिष्ठानले पाएको थियो ।
प्रधानमन्त्री एवम् चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको १७ औँ बैठकले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित १४ वटा संस्थामा सिट सङ्ख्या थप गर्ने र चारवटामा घटाउने निर्णय गरेको थियो । गतवर्ष यी संस्थाहरूमा ७ सय ९५ सिट थियो । हाल बढेर कुल १ हजार २६ सिट भएको आयोगले जनाएको छ । आयोगका अनुसार सबैभन्दा धेरै सिट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा १ सय १८ सिट थप भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सेस गोठगाउँमा भने पीजीको ९ सिट घटेको छ । गतवर्ष साइन्सेसले २० सिट पाएको थियो । यस्तै महाराजगञ्ज मेडिकल क्याम्पसले गतवर्ष १ सय २३ सिट पाएको थियो । तर यसवर्ष ७ सिट घट्दा १ सय १६ सिट मात्रै पढाउन पाउने भएको छ ।