धरान  / कृषिउपज बजार धरानमा यो वर्षको माघ अन्तिमसम्ममा ६१ करोड बराबरको सुन्तलाको कारोबार भएको छ । गत बर्ष भन्दा ३ करोडको कारोवार घटेको कृषी उपज बजारले जनाएको छ । 

कृषिउपज बजारका अनुसार माघ मसान्तसम्म ४ हजार पाँचसय १७ मे।टन सुन्तलाको कारोबार भएको छ । सुन्तलाको सिजन कात्तिकबाट सुरु हुन्छ । चैतको पहिलो सातासम्म बजारमा सुन्तला पाइन्छ । मुख्यतयाः पुस र माघमा बढी करोबार हुने गरेको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनु भयो । सिजनको अन्तिम विन्दमा आइपुग्दा गत वर्ष भन्दा कारोवार घटेको पाइएको हो । 

 गत आर्थिक वर्षमा ५ हजार तीनसय १९ मे।टन सुन्तलाको कारोबार हुँदा ६४ करोड आम्दानी भएको थियो । गतवर्षभन्दा  गतवर्ष औषत मूल्य प्रतिकेजी एकसय २० रहेको थियो । यो वर्ष औषत मूल्य प्रतिकेजी एकसय ३० पुगेको छ । बजारमा सुन्तला कम भएपछि भाउ बढेको हो । यो आर्थिक वर्षमा सुन्तलाको कारोबार १५ प्रतिशतले कम भएको कृषिउपज बजारका अध्यक्ष काजी गिरीले बताउनुभयो । 

कृषिबजारमा विशेषगरी भोजपुर, धनकुटा, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, खोटाङलगायतका जिल्लाबाट आउने गरेका छन् । विशेषगरेर भोजपुर र धनकुटाका सुन्तलाको बजारमा निकै माग रहेको छ । ग्राहकहरूले कुन जिल्लाको सोधेर मात्र किन्ने गरेका छन् ।

जिल्ला कृषि ज्ञान प्रसार केन्द्र धनकुटाका अनुसार खोकु छिन्ताङ आँखीसल्ला, मौनाबुधुक, धनकुटा, तेलिया, खुवाफोक, चुङ्माङलगायत क्षेत्र सुन्तलाको पटक क्षेत्र हुन् । यी गाउँबाट सदरमुकाम धनकुटा हुँदै धरान, इटहरी, विराटनगरका चौक, गल्लीमा सुन्तला पुगेका छन् । सुन्तलाको स्वाद थाहा पाउने ग्राहक धनकुटा र भोजपुर कै सुन्तला खोज्ने गरेको व्यापारीहरू बताउँछन् । खोकुमा सुन्तला नेपालकै उत्कृष्ट मीठो मानिन्छ । पछिल्लो समय सङ्खुवासभाको माङ्तेवा र भोजपुरका मीठा सुन्तला पाइने बताइएको छ ।

कृषिउपज बजारमा सुन्तला बिक्री गर्दै आएका व्यवसायी ज्ञानबहादुर बस्नेतले धनकुटाको खोकुछिन्ताङको नाम बढी आए पनि भोजपुरका सुन्तला बढी रसिना भएको बताउँछन् । ग्राहकले पनि भोजपुरकै खोज्ने गरेको उहाँको भनाइ छ । उहाँ दैनिक २० देखि २५ टनसम्म उनले सुन्तला बेच्दै आउनुभएको छ । पूर्वी पहाडी जिल्लाबाट यहाँ आएका सुन्तला पूर्वका सहरहरू धरान, इटहरी, इनरुवा, विराटनगर, उर्लाबारी दमक, बिर्तामोड, राजविराज, लाहान, जनकपुरलगायतका स्थानमा पुग्ने गरेका छन् ।

यस्तै भोजपुरका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर टेम्केमैयुङ गाउँपालिकाको खावा केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगनेसँगै भोजपुर नगरपालिकाको दावा, बोखिम, पोखरे तथा षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसाद राई गाउँपालिकामा सुन्तला बढी उत्पादन हुने गरेको जिल्ला कृषिज्ञान प्रसार केन्द्र भोजपुरले जनाएको छ ।

सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने कृषकहरूको भनाइ छ । पछिल्लो समय यो क्षेत्रका धेरै युवा व्यावसायिक सुन्तला खेती विस्तारमा जुटेका छन् । तर कृषकका लागि स्थानीय तहले प्रोत्साहनका कार्यक्रम ल्याउन नसकेको उनीहरूको भनाइ छ । उत्पादन भएको सुन्तला भण्डारणका लागि चिस्यान केन्द्र स्थानीयस्तरमा भए सहज हुने भोजपुरका कृषक ईश्वरमान कार्कीले जानकारी दिनु भयो ।