झापा / झापाको कनकाई नगरपालिका –२ सुरुङ्गामा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि हातपात भएको छ ।
नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको पिकनिक कार्यक्रममा सहभागी भएर घरतर्फ फर्किदै गर्दा शनिवार साँझ कनकाई नगरपालिका –२ जुकेकल्भर्ट भन्ने स्थानमा उहाँमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बा १ झ ६५३ नं को गाडीमा आउँदै गरेका थापामाथि बा १ ञ १८७० मा सवार समूहले कुटपिट गरेको बताइएको छ । कुटपिटबाट पूर्व मुख्यमन्त्री थापाको अनुहारमा चोट लागेको छ । उहाँ बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा सामान्य उपचारपछि घर फर्कनु भएको छ ।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले शिवसताक्षी ११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाडी ओभरटेकको विषयमा विवाद भएको बुझिएको छ । उनीहरु विद्युत प्राधिकरणका कर्मचारीहरु भएको बताइएको छ ।