धरान  / धरान एक्सपो–२०८१ मा ग्राहकहरूको किनमेलको भीड बढेको छ । विशेषगरी दिउँसोको समयमा ग्राहकहरूले किनमेलका लागि समय छुट्याउने भएकाले स्टलहरूमा भिड लाग्ने गरेको छ। स्टल संयोजक विष्णु बरालका अनुसार दिउँसोको समयमा किनमेल गर्न आउनेहरूको चाप बढी छ, जसले एक्सपोमा झन् उत्साह थपेको छ। उनका अनुसार विभिन्न कम्पनिहरुको अफरका कारण सहभागिता बढेको हो ।   

एक्सपोमा रहेको नेपालकै प्रख्यात ब्रान्ड क्यालिबर सुजको स्टलमा भने विशेष अफरले सबैको ध्यान खिचेको छ। यहाँ एक हजार रुपैयाँदेखी दुई हजार रुपैयासम्म जुत्ता किन्न पाइने अफर छ। स्टक क्लियरेन्सको उद्देश्यले राखिएको यो अफर सीमित समयका लागि भएकाले कम्पनिले जनाएको छ । क्यालिबरका प्रतिनिधिले यो अफरले ग्राहकहरूको अपेक्षालाई पुरा गर्दै गुणस्तरीय जुत्ता कम मूल्यमा उपलब्ध गराएको बताए।

सङ्खुवासभाको शुद्ध सख्खरको स्टलमा पनि ग्राहकहरूको उल्लेखनीय चहलपहल देखिन्छ। यहाँ जैविक उत्पादन रुचाउने ग्राहकहरूको उत्साहले स्टललाई व्यस्त बनाएको छ। त्यस्तै, सुपर जुमको साबुज सरफमा पनि बम्पर अफरको कारणले ग्राहकहरू आकर्षित भएका छन्। स्टलहरूमा उपलब्ध अफर र उत्पादनको गुणस्तरका कारण धेरैले आफ्नो आवश्यकता अनुसार सामान किन्न पाएको अनुभव बाँडेका छन्।  

ग्राहकहरूका लागि यो एक्सपो एउटा विशेष अवसर बनेको छ। विभिन्न उत्पादनमा राखिएका अफरहरूले मात्र होइन, स्टलहरूमा प्रदर्शन गरिएका उत्पादनहरूको विविधताले पनि उनीहरूलाई उत्साहित बनाएको छ। बाहिरी बजारभन्दा सस्तो मूल्यमा गुणस्तरीय सामान किन्न पाउँदा ग्राहकहरू अत्यन्तै सन्तुष्ट छन्।  

पुष २५ गतेदेखि सुरु भएको यो एक्सपो माघ ५ गतेसम्म चल्नेछ। १४२ वटा स्टलमा नेपाल, भारत, बंगलादेश, र पाकिस्तानका उत्पादनहरू प्रदर्शनमा रहेको एक्स्पो संयोजक गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।