धरान / धरान एक्सपो–२०८१ को अन्तिम दिनमा कृषि र पर्यटनसम्बन्धी विशेष गोष्ठी आयोजना गरिने भएको छ। माघ ४ गते कृषि तथा माघ ५ गते पर्यटनसम्बन्धी गोष्ठी हुने आयोजकले जानकारी दिएका छन्।
कृषि गोष्ठीमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामको उपस्थिति रहनेछ भने पर्यटनसम्बन्धी गोष्ठीमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल सहभागी हुनेनुहुने छ ।
गोष्ठीका संयोजक सन्दीप शाक्यका अनुसार यी कार्यक्रमहरूको मुख्य उद्देश्य स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नु, आधुनिक कृषि पद्धति र पर्यटकीय सम्भावनाबारे जनचेतना फैलाउनु हो। “स्थानीय व्यवसायी, कृषक, र पर्यटन व्यवसायमा लागेकाहरूका लागि यो महत्वपूर्ण प्लेटफर्म हुनेछ। गोष्ठीले नयाँ ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गर्छ,” शाक्यले चन्नुभयो ।
पुष २५ गतेबाट सुरु भएको धरान एक्सपो माघ ५ गतेसम्म सञ्चालन हुनेछ। सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको एक्स्पोमा १४२ वटा स्टल राखिएको छ । जसमा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन तथा कोसी प्रदेशका १४ जिल्लाका व्यवसायीहरूको सहभागिता छ।
एक्स्पोमा स्थानीय उत्पादन र बजारीकरण, पर्यटन प्रवर्द्धन, स्वरोजगार, साहित्य, र वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न स्टल राखिएका छन्। सांस्कृतिक कार्यक्रम, प्रशिक्षण, र विविध मनोरञ्जनका गतिविधिले पनि दर्शकको ध्यान तानेका छन्।
आयोजकले एक्स्पोबाट १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा राखेका छन्। स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने यो प्रयास धरानको आर्थिक गतिविधि चलायमान बनाउन महत्त्वपूर्ण रहेको आयोजकको विश्वास छ।