धरान /  सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिर परिसरमा स्वास्थ्य इकाइ भवन र धर्मशाला निर्माण गरिएको छ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आइतबार ती भवनको उद्घाटन गर्नुभयो । 

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनकुमार विश्वकर्माले आफ्ना माता टिकामाया र पिता बखतबहादुरको स्मृतिमा बराहक्षेत्र मन्दिर परिसरमा स्वास्थ्य एकाइ (टीका बखत स्मृति भवन) निर्माण गर्नुभएको हो । उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा बराहक्षेत्र मन्दिरमा आइतबादेखि नै धनुर्मास उत्सवअन्तर्गत श्रीधरणीधर विवाह महोत्वस समेत शुभारम्भ गरिएको छ । 

नेता विश्वकर्माले नवनिर्मित भवनको चाबी बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीलाई हस्तान्तरण गर्नुभयो । उक्त भवनबाट सामुदायिक स्वास्थ्य एकाइमार्फत सेवा सुरु गरिएको नगर प्रमुख कार्कीले बताउनुभयो । 

धनुर्मास उत्सवअन्तर्गत श्रीधरणीधर विवाह महोत्सव बराह भगवान् नारायण र धरणी महालक्ष्मीबीच विवाह महोत्सवमा विशेष पूजा, आराधना, होम, पाठ, सत्सङ्ग र शोभायात्रा गरिने मन्दिरका पुजारी (पण्डित) योगेश भण्डारीले बताउनुभयो । कार्यक्रममा पूर्वराज्यमन्त्री सीताराम मेहता, संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बू, प्रदेशसभा सदस्य प्रदीप सुनुवार, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिमल्सिनालगायतको  सहभागीता रहेको थियो ।