धरान / कोशी प्रदेको आधुनिक सर धरान स्थापनाको १२४ औं वर्ष पुगेको अवसरमा धरान उपमहानगरपालिकाले धरान उत्सव मनाएको छ ।
पुस २० गते स्थापना दिवस मनाउँदै आएको धरान उपमहानगरपालिकाले यो वर्ष पाँचदिने धरान डे उत्सव शनिबारदेखि आयोजना गरेको छ ।
आधुनिक धरान सहरको जग वि.स. १९५७ सालमा बस्ती बस्न थालेको र त्यही आधारमा तत्कालीन धरान नगरपालिकाले २०५७ सालमा शतवार्षिकी महोत्सव आयोजना गर्ने गरेको थियो । त्यसैबेलादेखि धरानमा पुस २० गतेलाई धरान स्थापना भएको मानककोरुपमा लिएर धरान दिवससँगै उत्सवका रुपमा मनाउन थालेकाृ हो ।
मेयर हर्कराज राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक तथा ज्येष्ठ श्रमदाता ८८ वर्षीय काजीमान गुरुङले उद्घाटन गर्नु भयो ।
कार्यक्रममा पूर्व प्रदेश प्रमुख गोविन्द तुम्वाहाम्फे, कोशी प्रदशका सांसद रमेश बस्नेत, उपमेयर अइन्द्रविक्रम बेघा, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, नेपाली कांग्रेसका सभापति श्याम पोख्रेललगायतले शुभकामना दिनुभयो ।
कार्यक्रममा बोल्दै मेयर साम्पाङले सप्तकोशीको पानीको लागि केन्द्र सरकारले सहयोग नगरेको गुनासो गर्नु भयो । आफूले केन्द्र सरकारको ढोका ढक्ढक्याइरहे पनि नसुनेपछि थाल लिएर ठटाउन सिंहदरबार पुग्ने बताउनु भयो । धरानमा योगदान पुरयाएका व्यक्तिहरू साथै उत्कृष्ट करदातालाई पनि सम्मान गरिएको थियो ।
‘घुम्न जाऔं धरान’ नारासहित शुरु भएको उत्सवमा व्यापारिक स्टलहरु राखिएका छन् । विभिन्न जातीय समुदाय तथा संघसंस्थाहरुले मौलिक सँस्कृति झल्कने स्टलहरु पनि राखिएको छ । आज पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, पुस २२ गते इस्टर्न सिङ्गीङ सुपर स्टार सिजन–१ र लोकदोहोरीसहितको जुहारी कार्यक्रम, पुस २३ गते वाकाथून, रस्सी तान र छेलो हान्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक दिनेश गजमेरले जानकारी दिनुभयो ।