धरान / आगामी २५ पौषदेखि सुरु हुने ‘धरान एक्स्पो–२०८१’ का लागि स्टल बुकिङ खुला गरिएको छ । धरानको रङ्गशाला परिसरमा आयोजना हुने एक्स्पोका लागि स्टल बुकिङ खुला गरिएको आयोजक सुनसरी उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

मुलुकको विद्यमान आर्थिक शिथिलतालाई चलायमान बनाउने उद्देश्यसहित वाणिज्य संघले एक्स्पो आयोजना गर्न लागेको हो । धरानका स्वदेशी उत्पादनहरूसहित कृषि, पर्यटन लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवद्र्धन एवं विकासमा जोड दिनुका साथै यस क्षेत्रका आर्थिक गतिविधिहरूलाई गतिशील बनाउने उद्देश्य रहेको संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो । मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट मानिसहरु एक्स्पो अवलोकन एवम् व्यापार गर्न आउने अपेक्षा गरेको उहाँले बताउनुभयो ।  एक्स्पोले धरानको सुस्ताएको बजारलाई सक्रिय बनाएर व्यापार तथा व्यवसायिक क्षेत्रको पुनरुत्थानमा टेवा पुर्याउने विश्वास लिएको उहाँले बताउनुभयो । 

एक्स्पो विशेष रूपमा धरानको स्थानिय उत्पादन, कृषि सामाग्री बेसार, कालो बङ्गुर, तिनपाने, अदुवा, अम्लिसोलाई प्रवर्द्धन गर्दै स्थानिय आर्थिक गतिविधि बढाउन आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । यस पटकको मेलामा डोम हेंगरमा निर्मित करिब १४५ स्टलहरु रहने छन् । डोम भित्र संवेदनशील वस्तुहरूको करिब १०० वटा स्टल हुनेछन् । बाहिर थप अन्य स्टलहरू हुनेछन् ।

एक्सपोमा दर्शकहरुरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय कलाकारहरूबाट सांगीतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू रहेको आयोजकले जनाएको छ । धरान एक्स्पो २०८१  माघ ५ गतेसम्म सञ्चालन हुनेछ भने साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमबाहेक एक्स्पो अवधिभर ‘स्वरोजगार तालिम’ र ‘पर्यटन गोष्ठी’ पनि आयोजना गरिने आयोजकले बताएको छ ।