धरान । सहकारी संस्थाहरुको बचत रकम अपचनमा संलग्न हुनेहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । पोखराको सूर्यदर्शन ऋण तथा बचत सहकारी पोखरा ठगी प्रकरणमा पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसहित ६३ जनालाई प्रहरीले मुद्दा चलाएपछि देशभरका सहकारीको बचत अपचलनमा संलग्न व्यक्तिहरू पक्राउ पर्न थालेका हुन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले पनि धरानबाट ६ जना व्यक्तिहरूलाई सहकारी ठगीको आरोपमा पक्राउ गरेको छ । धरानका ठूला सहकारी वराह बचत तथा ऋण सहकारी संस्था र श्रेया बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले शेयर सदस्यहरूको बचत अपचलन गरेका कारण सहकारीहरू बन्द छन् । बचतकर्ताहरू आफ्नो बचत रकम पाउनु पर्ने माग गर्दै आन्दोलन पनि गरिरहेका छन् । त्यही सहकारीसँग आवद्ध संचालकहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई प्रहरीले नाम भने सार्वजनिक गरेको छैन् । श्रोतका अनुसार वराह बचत तथा ऋण सहकारी सङ्ख्याका सञ्चालक सदस्य अस्मिता भण्डारी, सरिता कालिकोटेलगायतलाई पक्राउ गरेको बताइएको छ । शुक्रबार जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरी ६ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीले आधिकारिक जानकारी भने दिएको छैन ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले जिल्लाको टोलीले पक्राउ गरेको जानकारी दिनु भयो । केन्द्रको निर्देशनअनुसार प्रहरीले सहकारी ठगीमा उजुरी परेकाहरूलाई अनुसन्धानका लागि धमाधम पक्राउ गर्न थालेको हो । डुबेका सहकारीमध्ये धरानका वराह सहकारी र श्रेया सहकारी संस्थाहरूको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिलेसमेत बराहले अपचन गरेको रिर्पोट बुझाएको थियो ।
धरानको वराह सहकारीले बचतकर्ताको करिब ७ अर्ब रकम अनियमितता गरेको बताइएको छ । श्रेया सहकारीले १६ सय बचतकर्ताबाट करिब डेढ अर्बभन्दा माथि अपचन गरेको उजुरी परेको छ । अध्यक्ष लोकबहादुर खापुङ तथा अन्य सञ्चालकविरुद्ध प्रहरीमा उजुरीसमेत परेको थियो ।
एमाले सांसद् सूर्य थापा संयोजकत्वको छानबिन समितिले सहकारी संस्थाको रकम कानूनविपरीत कारोबार भएको विषयमा छानबिन गरी कारबाहीको सिफारिस गरेको थियो । समितिको प्रतिवेदनमा वराहका सञ्चालकहरू मानबहादुर विश्वकर्मा, विष्णुमाया विश्वकर्मा, गङ्गाबहादुर कालीकोटे, विष्णुकुमारी तुलाधर, अमरबहादुर विश्वकर्मा, शुभराज खातीलगायत आफैले १० करोड ४७ लाख २९ हजार दुई सय ७३ रुपैयाँ ऋण लिएको उल्लेख छ । कर्मचारी, आफन्तहरु मिलेर बचतकर्ताहरुको रकम अपचलन गरेको पाइएको छ ।