धरान / नेपालसहित विश्वभरका इसाई धर्मावलम्बीहरूले आज ‘ख्रीमष्टस जन्मोत्सव मनाउदैं छन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा जिसस क्राइस्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले आज ख्रीमष्टस मनाउन लागेका हुन्।
दुई हजार वर्षअघि जेरूसेलमको बेथलेहममा मारियमको कोखबाट जिसस क्राइस्टको जन्म भएको मानिन्छ। उहाँले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । ‘ख्रीमष्टस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
क्रिसमस डेमा इसाई धर्मावलम्बीहरूले येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गर्छन्।
क्रिसमसका अवसरमा सहरमा बढीजसो विशेष रौनक छ। बजार र ठूला व्यापारिकस्थलमा ख्रीमष्टस ट्री लगायतले सजाइएको छ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली मुक्ति, प्रेम र शान्ति दिएको पाष्टर कुवेर गुरुङले जानकारी दिनुभयो ।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उहाँ बताउनुहुन्छ ।
हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको दावी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेका छन् । नेपालमा क्रिश्चियनका १३ सम्प्रदायका चर्च रहेको बताइएको छ । धरानमा विभिन्न चर्चहरुले आज विशेष कार्यक्रमको आयोजना गरि उत्सव मनाउदैं छ ।