धरान / धरान उपमहानगरपालिकका मेयर हर्कराज राई(साम्पाङ) तथा उनका समर्थकहरुबाट सामाजिक सञ्जालमा पत्रकारलाई गरिएको धम्की र दुव्र्यहोराको विषयमा अध्ययन गर्न नेपाल पत्रकार महासंघले मिसन टोली खटाएको छ ।
सुनसरीका पत्रकार गोपाल दाहाललाई दिएको ज्यान मार्ने धम्कीको विषयमा स्थलगत अध्ययन गर्न मिसन टोली खटाएको हो । नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट निर्वाचित केन्द्रीय समितिको मंगलबार बसेको पहिलो बैठकले महासंघका केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा मिसन टोली बनाएको हो ।
सात दिनभित्र प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्नेगरी बनाइएको टोलीमा अर्का केन्द्रीय सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का र महासंघ सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्ले रहनु भएको छ ।
पत्रकार दाहालले हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान भन्ने शिर्षकमा खोजपत्रकारिता केन्द्रका लागि रिर्पोट तयार पार्नु भएको थियो । उक्त रिर्पोट हिमाल खवर अनलाइनले प्रकाशन गरेको थियो । आफु विरुद्ध समाचार लेखेको भन्दैं मेयर साम्पाङले सामाजिक सञ्जालमा तथानाम गालीगलौज गदैं आफ्ना समर्थकलाई समेत उक्साउनु भएको थियो । प्रकासित सामाग्रीको भिडियो बनाएर शेयर गरेको भन्दैं नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषी राईलाईसमेत साम्पाङले धम्की दिनु भएको थियो । द्वय दाहाल र राईले मेयरलाई कारवाहीको माग गरि प्रहरी प्रशासनमा उजुरीसमेत दिए पनि हालसम्म प्रशासनले कुनै सुनुवाइ गरेको छैन् ।
महासंघको पहिलो बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक संकट व्यहोरिरहेको नेपाली पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
बैठकले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण हुँदै गरेका सञ्चारसम्बन्धी कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुको साथै खबरदारी गर्ने निर्णय गरेको छ ।