धरान /  धरान उपमहानगरपालिकाले  धरान स्थापना दिवसको अवसरमा यही पुन २० गतेदेखि पाँच दिन धरान उत्सव आयोजना गर्ने भएको छ । धरानमा मानव बसोबास सुरु भएको १२४ वर्ष पुगेकोमा धरान उत्सव मनाउन लागिएको कार्यपालिका सदस्य तथा प्रचार प्रसार समिति संयोजक दिनेश गजमेरले जानकारी दिनुभयो । धरान २०१७ सालमा विधिवत् नगरपालिका घोषणा भएको थियो । सोही दिनलाई धरानले धरान डे का रुपमा प्रत्येक बर्ष विविध कार्यक्रम गरेर मनाउदैं आएको छ । 

पुस २४ गतेसम्म हुने उत्सव सम्पन्न गर्न मेयर हर्क साम्पाङको संयोजकत्वमा उपमेयर अइन्द्रबिक्रम बेघा सहसंयोजक रहेको मूल समारोह समिति र विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ । धरान उत्सव ५ दिनसम्म सांस्कृतिक, खेलकुद, मनोरञ्जनात्मक, साहित्यिक, साङ्गीतिक कार्यक्रमहरू सहित मनाइने प्रचार संयोजक कार्यपालिका सदस्य दिनेश गजमेरले जानकारी दिनुभयो । धरान उत्सव धरान १६ स्थित रङ्गशाला दक्षिण खाली मैदानमा हुने छ । धरान डेु विशेष दिनको रूपमा पुस २० गते स्थानीय बिदा पनि दिइदैं आएको छ ।

धरान उत्सव आयोजना गर्न उत्सव स्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रदर्शनी तथा बिक्री स्टलहरू राखिने भएको छ ।

पुष २४ गतेसम्म हुने धरान उत्सव अवधिभर प्रवेश निःशुल्क रहने उपमेयर आइन्द्रविक्रम बेघाले जानकारी दिए । उनले धरान उत्सवमा स्थानीय, घरेलु उत्पादनहरूको प्रदर्शनी तथा बिक्रीलाई प्राथमिकता दिइने बताए ।