धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा धेरै सुधार भएको बताउनुभएको छ ।
नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनको शनिवार इटहरीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि भएका पूर्वाधार विकास र त्यसपछिका आर्थिक विकास तथा रोजगारीका अवसर सृजनालगायत क्षेत्रमा व्यापक परिवर्तन भएको बताउनुभयो ।
उहाँले जेसीजले मानवता, शिष्टता, विवेक र सभ्यता सिकाउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा पनि गर्नु भयो ।
जलवायु परिवर्तनले पृथ्वी र मानवजाती नै सङ्कटमा रहेको चिन्ता व्यक्त गदैं मानव हितको रक्षामा जेसीजले धेरै महत्त्वपूर्ण काम गरेको उल्लेख गर्नु भयो । यस सङ्कटको अवस्थामा प्लानेट र पिपुलको रक्षा जरुरी रहेको उहाँको भनाई थियो ।
“हामीलाई चाहिएको मानव जातिको सुख हो । हाम्रा मेहनतको ध्येय सुख पाउनु हो । ज्ञान र बुद्धि कस्तो छ भन्ने आधारमा मानिसको मूल्याङ्कन हुन्छ । बुद्धि भ्रष्ट भएमा काम लाग्दैन । मानिसमा विनम्रता हुनुपर्छ । घमण्ड हुनु हुँदैन”, मानिसले प्राप्त गरेको ज्ञान र बुद्धिलाई ठीकसँग प्रयोग गर्न सकेमा सुख प्राप्त गर्न सकिने बताउँदै उहाँले भन्नुभयो, “जेसिजले अनुशासन सिकाउँछ, अरुलाई सम्मान दिएर मनोबल सकारात्मक बनाउन प्रेरित गर्छ ।”
विश्व ध्यान दिवसको सन्दर्भ उल्लेख गर्दै उहाँले यस दिवसलाई सधैँ अपनाउन र मानव हितलाई केन्द्रमा राखेर पृथ्वीलाई जोगाउन आग्रह गर्नुभयो । जेसिजको लक्ष्य विश्व शान्ति, नेतृत्व विकास र उद्यमशीलता भएकाले मुलुकमा जेसिजको विस्तार भएकामा त्यसको सराहना गर्नुभयो ।
जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनमा देशभरबाट पर्यवेक्षक र प्रतिनिधिसहित ५ हजार युवाहरूको जमघट इटहरीमा भएको छ । नेपाल भरिका ७८ वटै शाखाबाट जेसीज प्रतिनिधिहरू सहभागी भएका छन् । सोमबार महाधिवेशन मार्फत सन् २०२५ का लागि राष्ट्रिय अध्यक्ष सहितका पदाधिकारीहरू चयन हुँदैछन् ।
अध्यक्षको लागि रश्मि शिल्पकार, विजय गुरुङ, रजनी थापा, नरेश चन्द्र ओझा, जीवन कार्की र सुनिल तिम्सिना प्रतिस्पर्धामा रहनुभएको छ ।
भिडियाे : स्वर्णिम राई