विराटनगर । नेपाल ट्रेड युनियन महासंघ जिफन्टले सुनसरी र मोरङका विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको श्रम ऐन कार्यान्वयनको अवस्थाको निरक्षण गर्ने भएको छ । त्यसका लागि भीमज्वाला राईको संयोजनमा ५५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

शनिबार विराटनगरमा जिफन्टको कायाकल्प अभियानको अभिमुखीकरण कार्यक्रम गर्दै सुनसरी र मोरङमा रहेका उद्योगकलकारखाना तथा विभिन्न प्रतिष्ठानलाई श्रमिकहरुको कार्यथलोका रुपमा वर्गीकरण गर्दै प्रतिष्ठानहरुमा श्रम ऐनको कार्यान्वयनको अवस्था, श्रमिकहरुको सेवासुविधाको अवस्था, श्रमिकहरुलाई समाजिक सुरक्षा योजनामा समावेश गरेनगरेको विवरणको अध्ययन गर्दै श्रमिहरुको अधिकारको भावी कार्यदिशा तय गर्ने जिफन्ट राष्ट्रिय कमिटी सचिव तथा अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि हरीबहादुर कार्कीले बताउनुभयो । 

पुस ९ देखि चैत मशान्तसम्म श्रमिकहरुले काम गर्ने प्रतिष्ठान केन्द्रीत अभियानका लागि जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको अगुवाईमा टोली निर्माण गरिएको प्रमुख अतिथि कार्कीले बताउनु भयो ।

टोलीमा औपचारिक तथा अनौपचारिक क्षेत्रका नेताहरु रहेकाछन् । जसमा समग्र उद्योग ट्रेड युनियन, जुट, गार्मेट, कार्पेट तथा टेक्सटायल क्षेत्र, निर्माण क्षेत्र, यातायात क्षेत्र, स्वरोजगार, सुरक्षा श्रमिक, बैंक तथा वित्तिय क्षेत्र, ब्युटिसिएन, स्वास्थ्य स्वयमसेवी लगायत रहेको जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमलाले जानकारी गराउनुभयो । 

नेपालको पहिलो मजदुर आन्दोलन भएको विराटनगरमा काम गर्ने श्रमिकहरुको पछिल्लो अवस्थाको नक्साङ्कन गर्दै सरोकारवाला निकायमा दवाव सिर्जना गरिने टोलीका संयोजक भीमज्वाला राईले बताउनुभयो । 

नेपालको पहिलो मजदुर आन्दोलनको मूल प्रवाहको जिफन्टलाई यस प्रदेशमा सबल र शक्तिशाली बनाउँदै युनियन आन्दोलनलाई प्रभावकारी बनाउन यो अभियान सञ्चालन गरिएको राईले बताउनुभयो । जिफन्ट निरन्तर मजदुरहरुमाझ क्रियाशील छ । तर, यो अभियान विशेष रहेको राईले बताए । 

कार्यक्रममा सुनसरी र मोरङमा रहेका जिफन्ट अन्तर्गत २१ वटा सदस्य यसनियनमा आवद्ध करिव १ सय अगुवा नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।