धरान /  धरानको उत्कृष्ट व्यवस्थापन भएको पब्लिक हाई स्कूल र भारतको कोलकातास्थित विराला हार्इ स्कूलविच भगिनी सम्बन्ध कायम गरिएको छ । 

केही दिन अघि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक, शिक्षक अभिभाक संघका अध्यक्षसहितको भ्रमणको क्रममा उक्त विद्यालयसँग भगिनी सम्बन्ध कायम गरिएको हो ।  ५२ जनाको टोली यही मंसिर २७ गते शैक्षिक अवलोकन भ्रमणका लागि कलकता पुगेको थियो । 

भ्रमण टोलीले भारतको दोस्रो र पश्चिम वंगालको पहिलो स्थान हासिल गर्न सफल कोलकातास्थित विरला हाई स्कूलका शिक्षकहरुबीच सिकाइ अनुभव आदन प्रदानसमेत गरेको छ । उक्त स्कुलसँग एक महिने विद्यार्थी एक्सचेन्ज कार्यक्रमको तयारी भइरहेको  भ्रमणमा सहभागी विद्यालयका प्रधानाध्यापक डा.इन्द्रमोहन झाले जानकारी दिनु भएको छ । टोलीलाई विरला हाई स्कूलका प्रिन्सिपल मिस लभेलिज सिंगलले स्वागत गनुृ भएको थियो । अव दुवै विद्यालयको शैक्षिक तथा व्यवस्थापनबारे विद्यार्थीहरुलाई बुझन पठाउने कार्यक्रम तय गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी कार्कीले जानकारी दिनु भयो ।  

भ्मण टोलीलाई विरला हाइ स्कुल संचलन गर्ने संस्था विद्या मन्दिर सोसाइटीका डेपुटी सेक्रेटरी जेनेरल कोलोनेल टीआर विरलासमेतको विशेष उपस्थितिमा विरला हाई स्कूलका प्रिन्सिपल मिस लभेलिज सिंगल र पब्लिक रिलेसन अफिसरले सहजिकरण गर्नु भयो ।  यो शैक्षिक भ्रमणले पब्लिक हाई स्कूलका शिक्षक र विद्यार्थीहरूको शिक्षामा थप उचाइ थप्ने विश्वास गरिएको धरान उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश प्रसाद खतिवडाले बताउनु भयो । उहाँ पनि टोलीमा सहभागी हुनुहुन्थ्यो । 

यात्राका क्रममा, पुरीको जगन्नाथ मन्दिर, कोनार्कको सन टेम्पल, कोलकाताको साइन्स सिटी, विक्टोरिया मेमोरियल, दक्षिणेश्वर मन्दिर, हावडा पुल, वेलुर मठ  र प्रमुख बजारहरूको अध्ययन अवलोकन गरिएको थियो । 

शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र किरातीका अनुसार शैक्षिक अवलोकन भ्रमणले ज्ञानको विस्तार मात्र नभई धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणबाट पनि धेरै लाभ पुगेको बताउनु भयो । 

भ्रमणमा साइन्स तथा इलेक्ट्रिकल विभागका इन्चार्ज मोहन श्रेष्ठ, वायोलोजी शिक्षक किशोर चौधरी, धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडालगायत शिक्षक, कर्मचारीहरुको सहभागीता रहेको थियो ।