धरान / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कमजोर कार्यसम्पादन र अव्यवस्थित कार्यप्रणालीका कारण अस्पताल र शैक्षिक क्षेत्र गम्भीर अव्यवस्थामा पुगेको भन्दैं यहाँको शिक्षक कल्याण समाजले चिन्ता व्यक्त गरेको छ ।
आर्थिक अनुशासन र व्यवस्थापनको अभावले गर्दा कर्मचारी तथा शिक्षकहरूको नियमित तलब भत्ता समयमा उपलब्ध हुन नसकेको र प्रतिष्ठानमा काम गर्ने आकर्षण भत्ता कटौती गर्ने, र शिक्षकहरूको खातामा जम्मा भइसकेको रकम फिर्ता गर्ने जस्ता घटनाहरूले गम्भीर बनाएको समाजले जनाएको छ ।
सोमबार शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेहराज अहमद आलम र महासचिव डा. कादिर आलमले विज्ञप्ति जारी गरी प्रतिष्ठान पदाधिकारीहरुको मनोमानीले कार्यरत कर्मचारी, चिकित्सकहरुमा निराशा ल्याएको उल्लेख गर्नु भएको छ ।
'कसैलाई तलब सुविधा दिने तर कसैलाई नदिने प्रचलन, समान अवसर र सुविधाको अभावले विभाजनको भावना र श्रम विभेदलाई प्रोत्साहन गरिएको अनुभूति भइरहेको छ ।'- विज्ञप्तिमा भनिएको छ- ' फ्याकल्टिहरुले पाइरहेको सुविधामा निरन्तर चरणबद्ध रुपमा निर्मम प्रहारहरु बढिरहेका छन् । प्रतिष्ठानभित्र हाल चरम आर्थिक अपारदर्शिता देखिएको छ । सीमित स्रोत साधनका बाबजुद प्राथमिकता निर्धारण र आवश्यकता मूल्याङ्कनका लागि शिक्षक, विभागीय प्रमुख, र सम्बन्धित पक्षसँग पर्याप्त परामर्श नगरिएको स्पष्ट छ ।' मेडिकल सप्लायर्सले विभागीय काममा हस्तक्षेप गर्ने, सामग्रीको छनौटमा मनपरी गर्ने जस्ता गतिविधिहरू झनै बढ्दै गएको समाजले ध्यानाकर्षण गराएको छ ।
उपकुलपति डा. ज्ञानेन्द्र गिरीले तीन बर्ष अघि हरेक तीन महिनामा प्रतिष्ठानको आयव्यय विवरण सार्वजनिक गर्ने वचन दिए पनि कार्यन्वयन नभएको अध्यक्ष खानले बताउनु भयो । प्रतिष्ठानले चलाएको फार्मेसीजस्ता सम्भावित आय स्रोतमा देखिएको चरम लापरवाही र अपारदर्शिताले संस्थाको आर्थिक क्षमतामा ठूलो क्षति पुयाएको समाजले प्रष्ट पारेको छ ।
'यता, विभागहरूले माग नगरेका सामग्री किन्न दबाब दिने कार्यले आर्थिक व्यवस्थापनको गम्भीर कमजोरी उजागर गरेको छ । यसैगरी, प्रतिष्ठानको शिक्षक सेवा र सर्तसम्बन्धी नियमावली पास गर्ने विषयमा देखिएको उदासीनता गम्भीर चिन्ताको विषय बनेको छ। लोकसेवा आयोगसँगको सम्बन्ध थप बिग्रँदै गएको छ ।'- विज्ञप्तिमा भनिएको छ ।
स्वास्थ्य बीमा र भुक्तानी प्रक्रियामा ठोस प्रगतिका कुनै संकेत देखिएका छैनन् । यी सबै समस्याका बाबजुद प्रतिष्ठानका पदाधिकारीहरूबीच बढिरहेको द्वन्द्वका कारण शिक्षक, विद्यार्थी, बिरामी, तथा कर्मचारीहरूले ठूलो मूल्य चुकाउनु परेको समाजले दावी गरेको छ । शिक्षक कल्याण समाजले प्रशासनिक कमजोरीको दोष शिक्षकहरूमा थोपर्ने र उनीहरूलाई तलब भत्ता तथा अन्य सुविधाबाद वञ्चित राख्ने प्रवृत्तिको कडा प्रतिवादसमेत गरेको छ ।
समाजले कार्तिक र मङ्सिर महिनाको तलव शिक्षकहरुले पाउदैं आएको पुस्तक, एप्रोन, गाइड र सहायक गाइड वापत विगतमा प्रतिष्ठानले दिदैं आएको सुविदा तत्काल उपलब्द गराउन ध्यानाकर्ष समेत गराएको छ ।
प्रतिष्ठानको नियमावली संसोधन यथाशिघ्र पारित गर्ने, शिक्षकहरुले पेश गरेको अध्ययन तथा स्वध्ययन बिदाको बारेमा निर्णय गर्ने, समिनार सुविधा नियमित गर्ने, दुई वर्षको बढेको तलब भत्ता उपलब्ध गराउने तथा प्रतिष्ठानको आयव्यको विवरण सार्वजनिक गर्ने काम २४ घण्टा भित्र गर्न समाजले चेतावनी दिएको छ । समाजले राखेका निम्नतम मागलाई सम्बोधन नगरे शिक्षक कल्याण समाजले चरणबद्ध रूपमा शैक्षिक तथा परिक्षासम्बन्धी सबै जिम्मेवारी बहिष्कार गर्दै आन्दोलनको घोषणा गर्ने समाजले चेतावनीसमेत दिएको छ। उनीहरुले समस्या समाधानका लागि शीघ्र र प्रभावकारी कदम चाल्न आग्रहसमेत गरिएको छ ।