धरान । नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित हुनुभएको छ ।
नयाँ कार्यसमितिका लागि शुक्रबार धरानमा सम्पन्न निर्वाचनमा कार्यसमितिको उपाध्यक्षमा अर्जुन सुवेदी, महिला उपाध्यक्षमा यशोदा सेन, सचिवमा पर्शुराम बाह्रकोटी, सह–सचिवमा विकल रेग्मी, सह–सचिव सदस्यमा वीरेन्द्रकुमार साह, कोषाध्यक्षमा बिबेक रेग्मी र आदिवासीतर्फ विजयकुमार राई निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत हर्ष सुब्बाले जानकारी दिनुभयो ।
यस्तै, केन्द्रीय परिषद् सदस्य महिलातर्फ शुभद्रा प्याकुरेल र समावेशी जनजातीतर्फ नरबहादुर लिम्बु र फुनचन्द्र मेहता तथा खुल्ला तर्फ गोपाल दाहाल र बाबुराम सुवेदी निर्वाचित हुनु भएको छ । प्रेस चौतारी नेपाल र प्रेस युनियन नेपालको सयुक्त प्यानलमा सहसचिव बाहेक सबै पदमा विजय भएका छन् ।
निर्वाचनमा खसेको मतको १८१ मा ९४ मत प्राप्त गर्दै अध्यक्षमा काफ्ले निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी गणेश निरौलाले ७९ मत प्राप्त गनुृ भयो । अर्का उम्मेदवार शेखरनाथ योगीले ५ मत मात्रै पाउनु भयो । उहाँलार्इ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको समर्थन थियो । निरौला भने प्रेस युनियनबाट बागी उठनुभएको थियो । काफ्ले १५ मत बढीले विजयी हुनु भएको छ । उहाँ यस अघि उपाध्यक्ष भएर काम गरि सक्नुभएको छ ।