धरान  / नेपाल पत्रकार महासङ्घ सुनसरीको आयोजनामा धरानमा पत्रकारहरूले प्रेस स्वतन्त्रताको माग गर्दै साेमबार मौन जुलुसको आयोजना गरेका छन् । समाचार लेखेकै कारण धरान उपमहानगरपालिका प्रमुख हर्क राज राई(साम्पाङ)ले सामाजिक सञ्जाल मार्फत धम्की दिएपछि पत्रकारहरू आन्दोलित भएका छन् । 

प्रमुख साम्पाङले प्रेस स्वतन्त्रता माथि ठाडो हस्तक्षेप गरेको विरोधमा प्रेस स्वतन्त्रता कायम गर, शासक कि जनप्रतिनिधि ? हामी यसको जवाफ चाहान्छौं ।, डर धम्की बन्द गर, नागरिकलाई थुक्न पाइँदैन, पत्रकारलाई थुक्न पाइँदैन जस्ता नारा लेखिएका पर्चा हात हातमा लिएर नगर पपिरक्रममा गरेका थिए । 


भानुचोक देखि उपमहानगरपालिकासम्म पुगेको जुलुस प्रवेशद्वारमा कोणसभा गरिएको थियो । कोण सभामा वरिष्ठ पत्रकार हर्ष सुब्बाले लोकतन्त्र प्राप्तिका लागि लडेका पत्रकारहरूमाथि लोकतन्त्रको उन्नत अभ्यासबाट आएका जनप्रतिनिधिहरूबाटै असुरक्षित हुने अवस्था सिर्जना हुनु दुभाग्य  भएको बताउनु भयो । नगर प्रमुख साम्पाङले गृहमन्त्री रमेश लेखकलाई पत्र पठाएको उल्लेख गर्दै अब ‘हिमाल खबरमा छापिएको समाचार बारे छानबिन हुनुपर्ने बताउनु भयो । समाचार पुष्टि भए नगर प्रमुख स्वयं जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले नगर प्रमुखले गृहमन्त्रीलाई पठाएको पत्रमा पत्रकारलाई कारबाही गर्ने भनिएको विषय खेदजनक भएको बताउनु भयो । नक्कली माओवादीको विषय उनी आफू स्वयमले होइन भनी पुष्टि गर्न पनि उहाँले चुनौती दिनु भएको छ । 

केही दिन अघि खोज पत्रकारिता केन्द्रले तयार पारेको धरान उपमहानगर र साम्पाङले गरेको वेथितिबारेको सामाग्री प्रकासित भएको थियो । सोही विषयलाई लिएर नगर प्रमुख साम्पाङले खोजपत्रकारिता केन्द्रलाइृ चुनौती दिदैं नगर प्रमुखको मर्यादा भन्दा तल झरेर सामाजिक सञ्जालमा जताभावी लेख्नु भएको थियो । यस विषयमा महासंघका अध्यक्ष जनकऋषी राई र पत्रकार गोपाल दाहालले प्रशासनमा उजुरीसमेत दिनु भएको छ । महासघंको नेतृत्वमा गृहमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाइएको छ । 

याे पनि पढ्नुहाेस्: हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान