धरान । दिनानुदिन बढीरहेको सडक दुर्घटना न्युनिकरण गर्न कोशी प्रदेशमा सडक सुरक्षा सचेतना जागरण अभियान सञ्चालन गरिने भएकोछ । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सडक दुर्घटना न्युनिकरणका लागि सरोकारवाला सबैलाई साथमा लिएर आधारभूत तहसम्म अभियान सञ्चालन गरिने प्रतिवद्धता जनाउनु भएको हो ।
पुस देखि चैतसम्म सञ्चालन हुने अभियानमा यातायात मजदुर तथा सडक प्रयोगकर्ताहरुलाई सडकमा यात्रा गर्दा अपनाउनु पर्ने सतर्कता, नियम र अनुशासन बारे सचेत गराइनेछ । कोशी प्रदेशको १४ वटै जिल्ला सञ्चालन हुने अभियानको पहिलो चरणमा सप्तकोशीदेख काकडभिट्टासम्मका सडक, दोस्रो चरणमा पहाडी जिल्लाहरु र तेस्रो चरण्माा कलेज तथा विद्यालयहरुमा सचेतना अभियान सञ्चालन गरिने छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी अध्यक्ष सरोज श्रेष्ठ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी विनोद घिमिरे, कोशी प्रदेश सभा सदस्य रमेश बस्नेत, संगठनका कोशी अध्यक्ष गौरी लामा सहितका प्रतिनिधि मण्डलले मुख्यमन्त्री कार्कीको कार्यकक्षमा भेटेर सरोकारवाला सबैलाई सरकारले साथमा लिएर सडक सुरक्षा सचेतना जागरण अभियान सञ्चालन गर्न प्रस्ताव गरिएको थियो ।
छलफलका क्रममा मुख्यमन्त्री कार्कीले यो अभियान अत्यावश्यक रहेको र प्रदेश सरकारले तयारी गरिरहेकै अवस्थामा मजदुर, व्यवसायी र ट्राफिक प्रहरीबाट अबधारणा सहित प्रस्ताव आएकाले खुशी लागेको बताउनुभयो वहाँले भन्नु भयो यो अभियान थालौँ आवश्यक व्यवस्थापनको काम सरकारले गर्छ ।
सडक दुर्घटनाको बढ्दो ग्राफले हामी सबै सडक दुर्घटनाको जोखिममा रहेकाले यो अभियानको अबधारणा सहितको प्रस्तव गरिएको मजदुर नेता भीमज्वाला राईले बताउनुभयो । हामी कुनैपनि समय दुर्घटनामा पर्ने जोखिमछ यसलाई न्युनिकरण गर्न सबैको चासो हुनु पर्छ राईले भन्नुभयो ।
प्रस्तावित अभियान सम्पन्न गर्न प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको यातायात महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश कमिटी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, कोशी प्रदेश कमिटी, नेपाल यातायात मजदुर संघ, कोशी प्रदेश कमिटी, अखिल नेपाल यातायात मजदुर संघ, कोशी प्रदेश प्रदेश कमिटी, र अन्य सरोकारवालाहरुलाई समेत समेटेर कार्यदल निर्माण गर्न प्रस्ताव गरिएको छ ।
उक्त कार्यदलकै प्रयत्नमा सचेतना सामग्रीहरु पर्चा, स्टिकर प्रकाशन गरि प्रदेशका सबै पालिकाका चोक र सडकहरुमा “सडक सचेतना शिक्षा” सञ्चालन गर्ने । बसपार्क, ग्यारेज, फुटपाथ, चोक, स्कुल, कलेज केन्द्रीत सचेतना कार्यक्रम गर्ने, सबै जिल्लाहरुमा समेत कार्यदल निर्माण गरि अभियान सञ्चालन गर्ने रहेको छ ।