धरान । तिहारमा देउसेभैलाे खेलेर संकलन भएकाे गम्भीर राेगका विरामीकाे उपचारकाे लागि सहयाेग गरिएकाे छ ।
धरानको भानुचोक बस स्टेण्डमा काम गर्ने मजदुर बुद्ध ठटालको उपचारका लागि २२ हजार सहयोग प्रदान गरिएकोछ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्टेण्ड श्रमिक इकाई सदस्य ठटाल मुखको क्यान्सर पीडित हुन् ।
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अगुवाइमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, प्रेस चौतारी नेपाल धरान साथै धरानका केही पत्रकार, समाजसेवीले देउसी उठेको दक्षिणा मध्ये १० हजार र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको समन्वयमा संकलित १२ हजार गरी जम्मा २२ हजार प्रदान गरिएको हो ।
मंगलबार संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई र नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि चाम्लिङले पीडित मजदुर ठटालका दाइ जीवन ठटाललाई संगठनका धरान कार्यालयमा सहयोग हस्तान्तरण गरेका हुन् ।
करिव एक वर्षदेखि क्यान्सरबाट पीडित ठटाललाई संगठन स्टेण्ड श्रमिक इकाईको तर्फबाट नगद १ लाख र कमिटीका अध्यक्ष बलबहादुर लिम्बुबाट १० हजार गरि एकलाख १० हजार यस अघिनै सहयोग गरिसकिएकोछ भने स्टेण्ड श्रमिकहरुले आफ्नो पारिश्रमिकबाट प्रत्येक दिन सहयोग छुट्याउने गरिएको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनुभयो ।
यस्तै देउसीबाट उठेकाे रकम मृगाैला राेगबाट पीडित पत्रकार पिवी दियालीलाई बुधबार हस्तान्तरण गरिएकाे छ । धरानमा पत्रकार दियालीकी भान्जी लिला घिमिरेलाई सहयोग हस्तान्तरण गरिएको हो । नेपाल पत्रकार महासंघ काेशी प्रदेश समिति सचिव देवेन्द्र कार्की, सुनसरी अध्यक्ष जनकऋषि चाम्लिङ, अग्रज पत्रकार तथा मजदुर नेता भीमज्वाला राईलगायतकाे उपस्थितिमा नगद १५ हजार हस्तान्तरण गरिएकाे हाे । दुवै मृगाैला फेल भएर प्रत्याराेपण गर्नु भएका दियालीलाई गत बर्षकाे देउसीबाट पाँच हजार र याे बर्षकाे देउसीबाट १० हजार गरि नेपाल पत्रकार महासंघ सुनसरी मार्फत सहयाेग गरिएकाे देउसी अभियानका संयाेजक एंव नेपाल फाेटाे पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकाश चाम्लिङ राईले जानकारी दिनु भयाे ।