विराटनगर । नेकपा एमाले नेतृत्वको सरकारले मात्रै देशमा सुशासन कायम गर्न सक्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बताउनुएको छ । आज मोरङको ग्रामथानमा नेकपा एमाले मोरङद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अनुशासन हिन काम गर्नै कसैलाई पनि छुट दिने पक्षमा एमाले नरहेको प्रस्ट्याउनु भयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो(औ -कानुनविरोधी काम गर्ने कसैलाई पनि छुट छैन, जोसुकै भएपनि हामी कानुनी दायरामा ल्याउछौँ चाहे प्रदेश संसदभित्र रहेका मानिस हुन वा संघीय संसदभित्र रहेका मानिस हुन, चाहे मुलुकका ठुला ठुला कुर्सीमा विराजमान भएका मान्छेहरु हुन् सबैलाई कानुनी दायरामा ल्याइन्छ ।'
उहाँले अहिले चोर्न पाइनु पर्छ, लुट्न पाइनु पर्छ, हामीले गरेको ठिक हो भन्ने खालका पोष्टहरु सामाजिक सञ्जालमा आउने गरेको बताउदै सबै विषयलाई कानुन अनुसार टुंगोमा पुर्याउन सरकार लागि रहेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले अहिले सामाजिक सञ्जालको दुरुपयोग गरेर, फेक आइडी बनाएर एआई प्रविधिको दुरुपयोग गरेर मुलुकको राष्ट्रियतामाथि र मुलुकका लागि लडेका नेताहरुमाथि प्रहार गर्ने काम केही व्यक्ति तथा संस्थाहरुले गरिरहेको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले मंसिर १६ गते हुने उपचुनावमा सत्ता सहकार्य गर्ने दल नेपाली काँग्रेससँग पनि स्वस्थ्य प्रतिस्पर्धा गर्ने बताउदै आफ्ना उमेद्वारहरुलाई जिताउन कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । ग्रामथानको विकासमा कोशी प्रदेश सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सक्ने जति काम यही आर्थिक वर्षमा पुरा गर्ने आश्वासन दिनुभयो ।